राजविराज / झुटो विवरण पेश गरी नागरिकता बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका –१५ देउरी भरुवा निवासी देवन यादव र शिवनन्दन यादव रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय राजविराजमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । शिवनन्दन भने भारतीय नागरिक रहेको खुलेको छ ।
शिवनन्दनलाई छोरो भन्दै देवनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय गएका थिए । तर वडाबाट अपरिचित व्यक्तिले फोन गरेर कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएको जानकारी गराएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएका थिए । झुटो विवरण पेश गरेको थाहापाए लागतै प्रशासकीय अधिकृत किशोर रामले प्रहरी बोलाएर दुवै जनालाई पक्राउ गर्न लगाएको प्रजिअ आचार्यको भनाइ छ ।
पक्राउ परेका देवनका ज्वाइँ शिवनन्दनले आफू नेपाली नागरिक भएको दाबी गर्दै आएका छन् ।