बझाङ / बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्ता वापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मङ्गलबार राति चोरी भएको हो ।

सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आउनुभएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ ।

OM Sai Pathibhara Hospital

पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताएका छन् । वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिएका छन् ।

उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । करिब २१ लाख ९१ हजार रुपैयाँ वितरण गरिसकिएको र ३९ लाख रुपैयाँ वितरण गर्नका लागि राखिएको जनाइएको छ ।