विराटनगर / हतियार र लागूऔषध लिएर आउँदै गरेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत –९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेल रहेका छन् । 

चेकजाँचको क्रममा पटेललाई विराटनगर महानगरपालिका –१६ स्थित भत्केको वालनजिकबाट राति १०ः२८ बजेतिर पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका डीएसपी गोपीकृष्ण ठाकुरले जानकारी दिए ।  

OM Sai Pathibhara Hospital

ठाकुरका अनुसार प्लाष्टिकको झोलाभित्र राखेर ल्याउँदै गरेको अवस्थामा पटेको साथबाट एउटा कटुवा पेस्तोल, लागूऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद भएको छ । 

शंकास्पद रूपमा पैदल नै नेपाल प्रवेश गरेका पटेललाई नियन्त्रणमा लिएर खानतलासी गर्दा हतियार र लागूऔषध बरामद भएको डीएसपी ठाकुरले जानकारी दिए । 

पटेल हतियार र लागूऔषधका कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनी भारतको जोगवनीमा बसेर नेपाल केन्द्रित कारोबार सञ्चालन गरिरहेका थिए । 

नेपालतिर लागूऔषध र हतियार सप्लाइ गर्दै आएका उनी नेपालमा आफ्नो सम्पर्कमा रहेका आपराधिक पृष्ठभूमिका व्यक्तिलाई पुर्याउन आउँदै गरेको अवस्थामा पक्राउ परेको बताइएको छ । तर उनीसँगको सम्पर्कमा रहेर हतियार र लागूऔषध जोगवनीदेखि झिकाउनको भने पहिचान खुल्न सकेको छैन ।