पोखरा / लगातार वर्षाका कारण फुस्रेखोला लगायत
अन्य सहायक नदीमा पानीको बहाव बढेपछि पोखरा महानगरपालिका-३२ स्थित मालेपाटन र
शुक्लागण्डकी नगरपालिका-१ सेराबेँसी जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।
पुलको छेउछाउमा नदीले कटान गरेपछि पुलमा
आवतजावत गर्न समस्या भएको रुद्रबहादुर केसीले बताएका छन्।
जोखिममा रहेको
पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा आवतजावतमा समेत समस्या देखिएको उनले
बताएका छन् । पुललाई एकतर्फी रूपमा फुस्रेखोलाले कटान गरेपछि शुक्लागण्डकी-१
सेराबेँसी र पोखरा-३२ मालेपाटनमा आवागमन गर्न समस्या हुँदै गएको सेराबेसीका युवा
किशोर घिमिरेले बताएका छन्।
जोखिममा पर्दै
गएको पुलका सम्बन्धमा सम्बन्धित निकायले बेलैमा चासो दिनुपर्ने अर्का स्थानीयवासी
बलराम ढकालले जानकारी दिएका छन् ।
नौलो घुम्ती
नेपालको प्राविधिक सहयोगमा वि.सं २०७४ मा निर्मित पुलको लम्बाई ११९ मिटर छ। कूल ४१
लाख २५ हजार ५२८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको
बाढीले कटान गरेपछि जोखिममा पर्दै गएको हो ।
दैनिक ठूलो
सङ्ख्यामा कृषिजन्य कामका साथै पोखरा तथा तनहुँका विभिन्न स्थानमा हिँडेर र
मोटरसाइकलमा आवतजावत गर्ने सर्वसाधारण ठूलै समस्यामा परिरहेको स्थानीयवासीले
बताएका छन् ।