झापा / झापामा पहिलोपटक गौरादह नगरपालिका-६ मा
हर्दिनाथ हाइब्रिड-१ जातको धानको परीक्षण खेती सुरु गरिएको छ । यो धान अन्य जातका
तुलनामा दोब्बर फल्ने जिकिर गरिएको छ ।
प्रधानमन्त्री
कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ भद्रपुरसँगको साझेदारीमा गौरादहको
सगरमाथा किसान समूहले स्वदेशमै विकसित उक्त हाईब्रिड धानको पहिलो खेती गरेको हो ।
अन्य जातको धानको तुलनामा यसको उत्पादन दोब्बर हुने परियोजनाका वरिष्ठ कृषि अधिकृत
रवीन्द्र सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार यो धानको उत्पादन प्रतिहेक्टर
सात मेट्रिक टनसम्म हुन्छ । अन्य जातको धान साँढे तीनदेखि चार मेट्रिकटनसम्म मात्र
उत्पादन हुने गरेको छ ।
रोपिएको १२२
दिनभित्रमा यो धान पाकिसक्ने छ । नेपालमा हर्दिनाथ हाइब्रिड–१ र ३ जातको धान राष्ट्रिय बीउबिजन
समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भई प्रचलनमा आएको हो ।
धानको उत्पादकत्व वृद्धि गर्ने
योजनाअनुरुप परियोजनाले यस वर्षदेखि मुलुकका अन्य जिल्लामा समेत किसान र किसान
समूहसँग मिलेर स्वदेशी हर्दिनाथ हाईब्रिड–१ धानको प्रदर्शन खेती शुरु गरेको जनाएको
छ ।
परियोजनाले
किसान समूहलाई मल, बीउ, विषादी र प्रविधि आदिमा सहयोग पुर्याएको छ । अन्य जातको धानको बीउको
मूल्य प्रतिकेजी रु ८० पर्छ भने यसको प्रतिकेजी रु २५० पर्ने वरिष्ठ कृषि अधिकृत
सुवेदीको भनाइ छ । यसको एउटा एउटा बेर्ना रोप्नुपर्ने र एउटा बेर्नापछि आफैँ
गाँजिएर ८० वटासम्म हुने उनले बताएका छन् । स्थानीय किसान चन्द्रप्रसाद निरौलाले
पहिलोपटक यसको खेती गरेकाले आफू उत्साहित रहेको बताएका छन्।
यसवर्ष एक
हेक्टरमा लगाइएको धानको उत्पादकत्व हेरेर अर्को वर्ष खेती विस्तार गर्ने समूहको
योजना छ । सोमबार जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंह, धान सुपरजोन जिल्ला कार्यसमितिका
पदाधिकारी, पत्रकार र अन्य सरकारी कार्यालयका प्रमुखले धानखेती भएको स्थानमा
पुगेर अनुगमन गरेका छन् ।