डोटी / जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।

महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरुलाई नगद पुरस्कार जनही पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिएका छन् । महिनावारी छाउ बारेकै कारण उक्त गाउँपालिकामा अहिलेसम्म तीन महिलाले अकालमै ज्यान गुमाइसकेका छन् ।

OM Sai Pathibhara Hospital

गाउँपालिकाले महिनावारी नबार्न गाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरेपछि अहिले त्यहाँका महिला महिनावारी हुँदा घरै बस्ने गरेको गाउँपालिका उपाध्यक्ष निर्मलादेवी साउदले बताएकि छन्। उनि भन्छिन्, “महिनावारी हुँदा छाउ बार्ने र गोठमा बस्ने चलनले धेरै महिलाले ज्यान गुमाएका कारण हामीले छाउ नबार्न अभियान चलाएका थियौँ, हाम्रो अभियान सफल भएको छ।

छाउ भएका बार्ने महिला तथा छाउ बार्न लगाउनेलाई पालिकाले नागरिकता सिफारिस, जन्म, मृत्यु दर्तालगायतका सेवा दिन बन्द गर्ने निर्णय गरेसँगै अहिले छाउ बार्ने महिलाको सङ्ख्या घटेको निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिएका छन् । गाउँपालिकाले वर्षभरिमा महिनावारी अर्थात् छाउ हुँदा नबार्ने महिलालाई वर्षैपिच्छे सम्मान गर्दै जाने योजना बनाएको छ ।

जिल्लामा छाउपडी अन्त्य गर्नका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न प्रयास भई छाउपडीका लागि निर्माण गरिएका छाउगोठ भत्काइए पनि यहाँको छाउपडी अझै अन्त्य हुन सकेको छैन ।

मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) मा रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको र यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको भए पनि जिल्लामा अहिलेसम्म उक्त ऐन कानूनको पूर्णरूपमा पालना हुन नसकेका कारण छाउपडी प्रथा जटिल बन्दै गएको कानून व्यवसायी शङ्करदीप मडैले जानकारी दिएका छन् ।