• चन्द्रमणि कट्टेल

बिर्तामोड / अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैकले सुपारीको अनौठो कारोवार भित्र भईरहेको हुण्डी कारोवारका विषयमा चासो देखाएका छन् । गुप्तचर खबरले यो विषयमा नियमित समाचार प्रकाशन गर्न थालेपछि मन्त्रालय र राष्ट्र बैकले चासो देखाएका हुन् ।

केहि दिन अघि गुप्तचर खबरले सरकारबाट कोटामा सुपारी आयातको अनुमति पाएका फर्म तथा व्यवसायीक कम्पनीले सरकारी निकायसँगको मिलेमतोमा भन्सार मुल्याङ्कन कम देखाएर कर छलीरहेको र हुण्डीबाट करिव तिन अर्व रुपैंया पठाउन सुरु गरेको विषय सार्वजनिक गरिदिएपछि आन्तरीक छानविन सुरु भएकोे मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

OM Sai Pathibhara Hospital

मिलेमतोमा मुलुकमा आवस्यक नै नरहेको सुपारी ल्याउन सफल बनेका व्यवसायीले कम भन्सार मुल्य भएको फाईदा उठाउँदै आधा पैसा वैंकीङ प्रणालीबाट अनि आधा पैसा गैर बैंकिङ प्रणाली अर्थात हुण्डीबाट पठाउने गरेका छन् । गुप्तचर खबरसँगको कुराकानीमा केहि व्यवसायीले अन्तराष्ट्रिय मुल्य अनुसार भन्सार मुल्य परिमार्जन नहुँदा व्यवसायीले करिव आधा पैसा हुण्डीबाट पठाउन सजिलो भएको बताएका थिए ।

 विगत केहि वर्ष यता बन्द रहेको सुपारी आयात खुलाउन सफल बनेका व्यवसायीले यो वर्ष २५हजार मेट्रिक टन आयातको अनुमति पाएका छन् । आर्थिक वर्षको अन्तिम समयमा नेपालमा आवश्यक नै नरहेको सुपारी भित्राउन सफल उनीहरुले भन्सार मुल्य र अन्तराष्ट्रिय बजार मुल्य बिचको फरक करिव ३ अर्व रुपैंया गैर वैंकीङ प्रणाली अर्थात हुण्डीबाट तेस्रो मुलुक इण्डोनेशिया पठाउन सुरु गरेका हुन् ।

वर्षौ अघिबाट मिलेमतोमा सुपारीको अनौठो धन्धा गर्न पल्केका व्यवसायीका छ वटा समुहले एउटै समुह बनाएर सुपारी आयात गरिरहेका छन् । इण्डोनेसियामा यस वर्ष सुपारीको बजार मुल्य गुणस्तर अनुसार प्रति टन न्युनतम १६०० डलर देखि अधिकतम २६०० डलर सम्म रहेको छ । यति महँगो मुल्यमा खरिद भएकोे सुपारी अहिले न्युन मुल्य देखाएर भन्सारबाट आयात भईरहेको छ । सरकारले भन्सार मुल्य १०५० डलर कायम गरेकाले आयातकर्ता व्यवसायीले न्युनतम १०५० डलर देखि अधिकतम १६०० डलर सम्म प्रति टन मुल्य देखाएर आयात गरिरहेका छन् ।

नेपालमा अहिले आयात भईरहेको सुपारीको इण्डोनेसियामा प्रति टन २२०० डलर देखि २६०० डलर सम्म पर्ने यो विषयमा जानकार व्यवसायीले बताएका छन् । हामीलाई प्राप्त कागजातमा उल्लेख केहि ईण्डोनेसियाली पैठारीकर्ता फर्म तथा कम्पनीले नेपालमा आउँदै गरेको सुपारीको मुल्य सरदर प्रतिटन २३०० डलर पर्ने जानकारी गराएका छन् ।

सुपारीको भन्सार मुल्य र वास्तवीक मुल्य बिचको फरक पैसा अवैध बाटोबाट जाने गरेको सार्वजनिक भएपछि मन्त्रालय र राष्ट्र बैकले चासो देखाउँदै छानविन अघि बढाएका हुन् ।

सुपारी आयात रोक्न संसदिय समितिले दिएको निर्देशन अवज्ञा गरेर आयात अनुमति दिने अर्थ–मन्त्रालय पनि हुण्डी कारोवारको विषय सतहमा आएपछि छानविन अघि वढाउन मजबुर बनेको हो । सुपारीको यो कारोवारमा संलग्नको सरकारसँगको बलियो पहुँच भएकाले राष्ट्र वैक र अर्थ मन्त्रालय दुवैले गोप्य हिसाबमा छानविन थालेका छन् । मन्त्रालयका एक अधिकारी भन्छन्– यो सरकारले ल्याउन दियो भोली अर्को आउला सरकार , त्योे बेला कारवाही गर भन्यो भने के गर्ने । त्यही भएर मुलुक नै नोक्सान पुर्याउने गरी हुण्डीबाट सुपारीको नाममा हुने गरेको कारोवारका विषयमा छानविन गर्दैछौं ।

उनले व्यवसायीले दवावका भरमा सुपारी आयातको अनुमति पाएको भएपनि हुण्डी कारोवार गर्न छुट नदिएकाले छानविनका क्रममा दोषी पाएकालाई कानुन बमोजिम कारवाही हुने बताएका छन् ।

अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले सुपारी आयातमा हुने गरेको हुण्डी कारोवारको विषय मन्त्रालयको जानकारीमा आएको बताएका छन् । उनले कानुन विपरीत हुने कारोवार सरकारलाई मान्य नहुने बताउँदै सुपारी आयातमा हुण्डीबाट पैसा गएको प्रमाणित भए प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने बताएका छन् । संसदिय समितिको निर्देशन लत्याउँदै मुलुकमा आवश्यक नै नभएको सुपारी आयातको अनुमति किन दिईयो भन्ने प्रश्नमा उनले वाणिज्य मन्त्रालयले  आयात अनुमति दिएकाले आयात रोक्न नसकिएको प्रतिक्रिया दिएका छन् ।

सुपारी भित्रको हुण्डी कारोवारका विषयमा राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले हुण्डी कारोवार राष्ट्र वैंकको सरोकारको विषय भएको बताउँदै कानुन विपरीतका त्यस्ता गतिविधी र काममा संलग्न रहेको पाईए प्रचलित कानुन बमोजिम कारवाही हुने बताएका छन् ।

उनले अन्य मन्त्रालय र सरकारी निकायको अनुमति लिएर भएका काममा हुण्डीको सहारा लिएको पाईए सम्वन्धित मन्त्रालय र विभागसँगको सहकार्यमा त्यस्तो कारोवार र गतिविधीमा संलग्न माथि कारवाही गरीने बताएका छन् ।

विगतमा तेस्रो मुलुकको सुपारी आयात गरी नेपाली बनाएर भारत पठाउने अनौठो कारोवारमा संलग्न व्यवसायी समेत सरकार अनि सरकारी निकायको कमजोरीको फाईदा उठाउने काम सुपारीमा मात्र नभएर अन्य बस्तुमा पनि भईरहेको स्विकार्दछन् । उनी भन्छन् – पेट्रोलियम पदार्थको मुल्य अन्तराष्ट्रिय बजार मूल्यका आधारमा तलमाथि हुन्छ तर अन्य बस्तुको हुँदैन । त्यही भएर यस्ता बस्तुको कारोवारमा संलग्न व्यवसायीले हुण्डीको सहारा लिन्छन् ।

स्मरण रहोस् नेपाली सुपारी बनाएर इण्डोनेसियाको सुपारी भारत पठाउन अहिले भईरहेको आयातमा संलग्न समुहका बिचमा यसरी भागबन्डा गरीएको छ । झापाका प्रदिप मित्तल समुहको १५ प्रतिशत , गोविन्द सरिया समुहको २० प्रतिशत , होम पाण्डे – चित्र कुईकेल समुहको २० प्रतिशत , विराटनगर ग्रुप ९ प्रदिप मुरारका , दिनेश राठी र संजय अग्रवाल ० ३० प्रतिशत र झापाकै ओम अग्रवाल समुहको ६ प्रतिशत शेयर रहेको समुहमा संलग्न एक व्यवसायीले जानकारी गराएका छन् ।

उनले गुप्तचर खबरसँगको कुराकानीमा भन्सार मुल्य र बजार मुल्य फरक भएकाले सुपारी आयातमा संलग्न व्यवसायीले हुण्डीको सहाराको लिएको स्विकार समेत गरेका छन् । आयात गरिएको सुपारी मुलुकमा आवस्यक नरहेको समेत उनी स्विकार्दछन् , आवश्यक नै नरहेको सुपारी किन ल्याईदैंछ भन्ने प्रश्नमा भारत पठाउन नै ल्याईएको उनको भनाई छ । नेपाली सुपारी बनाउने काममा विगतका वर्षहरुमा झै यो पटक पनि सुपारी किसानका नाममा दर्ता भएका संस्थाले सहयोग गर्ने भएकाले कसैले आयात अनि निर्यात रोक्न नसक्ने उनले दावी समेत गरेका छन् ।

ति व्यवसायीले खुलेरै सो संस्थाको नाम उल्लेख नगरेपनि उनको भनाई सुपारी खेती बिकास संस्था नामको समुह तर्फ संकेत थियो । यो त्यो संस्था हो जसले व्यवसायीले तेस्रो देशबाट ल्याएर राखेको सुपारीको स्टक कागजात हेरेकै भरमा नेपाली सुपारी भएको भनेर सिफारीस दिने गरेको छ । कारोबारमा संलग्न एक व्यवसायीले देवी खतिवडा नेतृत्वको संस्थाले स्टक कागजातकै भरमा तेस्रो मुलुकबाट ल्याएको सुपारीलाई प्रति केजी ४० रुपैंया शुल्क लिएर सिफारीस दिने समझदारी भएको जानकारी समेत गराएका छन् ।

नेपाल ल्याईएको सुपारीलाई नेपाली बनाएर वैधानिक अनि अवैधानिक रुपमा भारत पठाउँदा ४५ प्रतिशत सम्म मुनाफा हुने गरेको छ । भारतमा सुपारी आयातमा महँगो भन्सार अनि जिएसटी शुल्क भएका कारण पश्चिम बंगालका व्यवासायी नारायण अग्रवालसँग मिलेर नेपाली व्यवसायीले यो धन्धा गर्दै आएका छन् ।

यो पनि – सुपारीको जालो : हुण्डीबाट यसरी वाहिरीदैंछ ३ अर्व रुपैंया


यो पनि – कोरोना महामारीमा मौलायो सुपारीको अनौठो धन्धा (भिडियो सहित)


यो पनि – सुपारीको अनौठो कारोवार : यस्तो छ सुपारी भित्र लुकेको अर्वौ रुपैंयाको खेल (भिडियो सहित )