बिर्तामोड (नागरीक दैनिकबाट) नयाँ संविधानले स्वास्थ्यलाई आधारभूत अधिकारको रुपमा व्यवस्था गरेसँगै नेपाल स्वास्थ्य क्षेत्रमा क्रमिक सुधारको बाटोमा अघि बढिरहेको थियो। अघिल्लो वर्षको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय निकायमा ५ देखि १५ बेडको अस्पताल स्थापनाको कार्यक्रम समावेश गरिएको थियो। सर्ने तथा नसर्ने रोगको उपचार तथा रोकथामका कार्यक्रम, सातै प्रदेशमा विशिष्ट अस्पताल निर्माणलगायतका योजना लागु गर्ने प्रक्रिया सुरु भएको थियो।

गत वर्षको अन्तिम समयमा विश्वभरि फैलिएको कोभिड १९ महामारीको प्रभाव नेपालमा पनि पर्‍यो। कोरोना महामारी व्यवस्थापन नेपालका लागि चुनौती बनेर देखियो। सुरुका दिनमा महामारी व्यवस्थापनको तयारी सरकारसामु चुनौतीपूर्ण थियो। कोभिड १९ विरुद्धको खोप कार्यक्रमका संयोजक डा। श्यामराज उपे्रतीका अनुसार नेपालमा कुनै पनि प्रकोप व्यवस्थापनको बारेमा योजना बने पनि तयारी नहुनुको परिणाम गत वर्ष सरकारले झेल्नुपर्‍यो। 

OM Sai Pathibhara Hospital

कोभिड महामारी सुरु हुनेबित्तिकैको समयमा यसको परीक्षण गर्न देशका कुनै पनि निकायमा आधुनिक प्रयोगशाला थिएन । त्यसैले तीव्र गतिमा प्रयोगशाला व्यवस्थापन गर्नुपरेको थियो। यसरी एक्कासि देखा परेको चुनौतीका कारण स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास, जनशक्तिलाई तालिम, प्रयोगशाला विस्तार भएको डा।उप्रेती बताउँछन्। ‘गत वर्षको चुनौतीले समस्यामात्र नभएर सिकाइ र विकासको अवसर पनि पनि दियो’, डा।उप्रेतीले भने । यो सिकाइलाई जनताले देख्ने गरी प्रयोगमा ल्याउन अझै बाँकी रहेको उनले बताए । कोभिड १९ का कारण धेरै कुरामा सुधार भएको डा। उपे्रतीको अनुभव छ। ‘प्रयोगशाला थपिए, आइसियु थपिए, स्वास्थ्यकर्मीले महामारी व्यवस्थापनको तालिम पाए’, उनले भने।

कोभिड १९ का कारण सरकारका नियमित कार्यक्रमसमेत प्रभावित भए। खोप अभियान, गर्भवती जाँच, सुरक्षित प्रसूतिसेवासमेत प्रभावित भएको जनस्वास्थ्यविद् बताउँछन्। परिवार कल्याण महाशाखा प्रमुख डा।तारानाथ पोखरेलको विचारमा पनि स्वास्थ्य क्षेत्रका लागि बितेको वर्ष महामारीका कारण चुनौतीपूर्ण रह्यो तर चुनौतीले सफलता पनि दिएको छ। सुरुमा कोरोना महामारीका कारण नियमित शल्यक्रिया, परिवार नियोजन कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, दीर्घरोगीको नियमित उपचार सेवा प्रभावित भए। तर यो अप्ठेरोलाई सरकारले केही समयमै व्यवस्थापन गर्न सिकेको पोखरेलको भनाइ छ। उनले भने, ‘चुनौतीकै बीचमा महामारी व्यवस्थापन गर्न सफल भयौं।’ बितेको वर्षले अब आउने महामारीको व्यवस्थापनमा सजिलै अघि बढ्न सक्ने क्षमता स्वास्थ्य क्षेत्रले विकास गरेको उनले बताए। ‘फेरि चुनौती आएको छ, हामी गत वर्षकै जस्तो स्थानीयदेखि प्रदेश तहसम्मका संरचनालाई पुनर्ताजगी गरेर अघि बढ्नुपर्छ’, उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर अनुगमन नियमन महाशाखाका प्रमुख डा।विकास देवकोटा गत वर्ष स्वास्थ्य क्षेत्र चुनौतीकै बीचबाट गुज्रिए पनि थुप्रै उपलब्धि हासिल भएको बताउँछन्। ‘गत वर्ष सयौं वर्षमा एकपटक आउने महामारीको सामना गर्नुपर्दा ठूलो चुनौती देखा पर्‍यो’, उनले भने, ‘तर यो चुनौतीले नेपाल सरकारलाई धेरै सिकायो र अवसर पनि दियो।’ स्वास्थ्य क्षेत्रमा कोरोनाकै कारण स्तरवृद्धि भयो। महामारी व्यवस्थापन सरकार एक्लैका लागि असम्भव हुन्छ भन्ने पनि गत वर्षले सिकायो। स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य, गैरसरकारीदेखि निजी अस्पतालको हातेमालोले मात्र कोरोना व्यवस्थापन सम्भव भएको थियो। स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने, अस्पताललाई थप सक्षम बनाउने, भौतिक पूर्वाधार स्तरोन्नति गर्ने, आधुनिक उपकरण भित्राउने, प्रयोगशाला थप्नेलगायत काम गत वर्ष भएको देवकोटाले बताए।

कोरोनाले निम्त्याएको चुनौतीका कारण सरकारको नियमित स्वास्थ्यसेवा प्रभावित भए पनि महामारीकै बीच पुनः सुचारु गर्न सिकेको डा।देवकोटाले बताए। ‘सुरुमा ननकोभिड बिरामीलाई समेत सेवा दिन सकेनौं। अबका दिनमा महामारीकै बीच ननकोभिड बिरामीलाई सेवा दिन सिकेका छौं’, उनले भने। ‘समग्रमा बितेको वर्ष चुनौतीपूर्ण रहे पनि उपलब्धिमूलक रह्यो’, डा।देवकोटाले भने।