बारा / बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ की ११ वर्षीया सनाया खातुन बेपत्ता भएकी छन्।
केही समयअघि बारामै एक बालिकामाथि भएको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान जारी रहेकै बेला अर्को बालिका सम्पर्कविहीन भएपछि स्थानीयवासीमा चिन्ता बढेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुवँरका अनुसार परिवारले बालिका हराएको भन्दै उजुरी दर्ता गराएपछि खोजी कार्य सुरु गरिएको छ। बेपत्ता बालिका हालसम्म काठमाडौंमा बस्दै आएकी थिइन्।
प्रहरीले बालिकाको अवस्थाबारे जानकारी भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन सबैसँग अनुरोध गर्दै खोजी अभियानलाई तीव्र बनाएको जनाएको छ। पछिल्ला दिनमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट बालबालिका बेपत्ता भएका घटनाहरू सार्वजनिक भइरहेका छन्। यस्ता घटनाले अभिभावक र स्थानीयवासीमा सुरक्षा चिन्ता बढाएको छ।






































