काठमाडौं। बीपी कोइरालाको स्मृति दिवसको अवसरमा आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले पार्टीले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यसहित ‘मानव सहायता कल्याण कोष’ स्थापना गरिएको घोषणा गरेका हुन्।


उनका अनुसार कोषमा प्रारम्भिक रूपमा १० लाख रुपैयाँ जम्मा गरिएको छ। यो रकम पार्टीका सदस्यहरूले तिरेको सदस्यता शुल्कबाट छुट्याइएको हो। कोषको पहिलो प्राथमिकता हाल विभिन्न स्थानबाट विस्थापित भएका सुकुमवासी परिवार, विशेष गरी एकल महिला, विपन्न परिवार र विद्यालय जानबाट वञ्चित बालबालिका रहने उनले स्पष्ट पारे।


थापाले कोषलाई केवल आर्थिक सहयोगमा सीमित नराखी आवश्यकताको आधारमा लक्षित समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याइने बताए। त्यसका लागि नेपाल महिला संघका स्वयंसेवक प्रभावित क्षेत्रमा खटिनेछन्। उनीहरूले वास्तविक आवश्यकता पहिचान गरी सहयोग वितरणको काम गर्नेछन्। साथै, तरुण दल र अन्य इच्छुक स्वयंसेवकलाई पनि अभियानमा जोडिन उनले आह्वान गरे।


उनले ‘ग्रिन रन’ केवल जलवायु परिवर्तनबारे सचेतना फैलाउने कार्यक्रम नभई सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने अभियानको सुरुआत भएको बताए। जलवायु परिवर्तनलाई नेपालको विकास नीतिको केन्द्रमा राख्न कांग्रेसले आगामी दिनमा नीति तथा कार्यक्रममार्फत काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।


बीपी कोइरालाले अघि सारेको समावेशी लोकतन्त्र, सामाजिक न्याय र प्राकृतिक स्रोतमा समान पहुँचको अवधारणालाई अहिलेको पुस्ताले व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै थापाले पार्टी अब राजनीतिक मुद्दासँगै मानवीय सेवामा पनि सक्रिय हुने संकेत दिए।


कार्यक्रममा अपेक्षाभन्दा धेरै सहभागी भएकाले व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार गर्दै उनले सहभागी युवासँग क्षमायाचना गरे र आगामी कार्यक्रमहरू थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए। साथै, 

बिहीबारदेखि कांग्रेसले नयाँ देशव्यापी अभियान सुरु गर्ने जानकारी दिँदै त्यसको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने बताए।