काठमाडौं । ठगी, सम्पत्ति शुद्धीकरण र अवैध सम्पत्तिको आरोप खेपिरहेकी टिकटकर तुल्सा अधिकारीले अदालतमा नयाँ दाबी गरेकी छन्। आफूलाई मुद्दा हाल्ने व्यवसायीसँग अघोषित वैवाहिक सम्बन्धमा रहेको बताउँदै उनले सम्पत्ति जोडिएको सबै रकम आफ्नो व्यवसायबाट आएको जिकिर गरेकी छन्।
अदालतमा उनले आफूलाई मुद्दा हाल्ने चिमोरिया थरका व्यवसायीसँग लामो समय अघोषित पति–पत्नीको रूपमा बसेको दाबी गरेकी छन्। तुलसाका अनुसार अटोमोबाइल क्षेत्रमा काम गर्ने क्रममा उनीसँग चिनजान भएको थियो। त्यसबेला आफू डिभोर्सी अवस्थामा रहेको र ती व्यवसायीले विवाह गर्ने आश्वासन दिएर काठमाडौंमा कोठा खोजी बस्न लगाएको उनको भनाइ छ।
तुलसाले अदालतमा दिएको बयानमा आफूले कुनै ब्ल्याकमेलिङ नगरेको र आफूमाथि लगाइएका आरोप झूटो भएको जिकिर गरेकी छन्। उनले आफ्नो नाममा देखिएका सम्पत्ति, बैंक मौज्दात तथा कारोबारको स्रोत ‘तुल्सा कलेक्सन’ व्यवसाय नै भएको दाबी गरेकी छन्। चीनसँग आयात–निर्यात व्यापार गर्ने कम्पनी सञ्चालन गरेको र त्यही आम्दानीबाट सम्पत्ति जोडिएको उनको भनाइ छ।
यस्तै, स्कुटर, सुनका गरगहना तथा अन्य सम्पत्ति आफूले आफ्नै कमाइबाट किनेको बताउँदै उनले राज्यलाई कर तिर्न बाँकी भए तिर्न तयार रहेको पनि अदालतमा उल्लेख गरेकी छन्। तुलसाले व्यवसायी चिमोरियाले नै पसल खरिद गरिदिएको र पछि आफैँले फिर्ता लिएको आरोपसमेत लगाएकी छन्। श्रीमतीलाई सम्बन्धबारे थाहा पाएपछि आफूलाई घरबाट निकालिएको दाबी पनि उनको छ।
यता अनुसन्धान पक्षले भने तुल्साको नाममा रहेको सम्पत्ति, बैंक कारोबार र आर्थिक स्रोतबारे विस्तृत अनुसन्धान गरिरहेको छ। अब अदालतले तुल्साको दाबी र अनुसन्धानबाट आएका प्रमाणमध्ये कसलाई आधार मान्छ भन्ने विषयले यो बहुचर्चित प्रकरणको आगामी दिशा तय गर्नेछ।




































