काठमाडौं । चर्चित टिकटकर तुलसा अधिकारीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई थुनामै राखेर मुद्दाको थप सुनुवाइ गर्न आदेश दिएपछि उनलाई नख्खु कारागार पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार व्यवसायी कुमार चिमोरियाको जाहेरीपछि नेपाल सरकार वादी बनेको यो मुद्दामा तुलसा अधिकारीसहित १० जना प्रतिवादी छन्। उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) जस्ता गम्भीर आरोप लगाइएको छ।
जाहेरीमा अधिकारी समूहले चिमोरियाबाट ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप उल्लेख छ। यस्तै, तुलसा अधिकारीको नाममा रहेको करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर गरिएको छ।
लामो समयदेखि फरार रहेकी अधिकारी २०८२ भदौदेखि नेपाल बाहिर रहेको बताइएको छ। उनी चीन हुँदै थाइल्यान्ड पुगेको अवस्थामा इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन्। पक्राउपछि नेपाल ल्याइएकी अधिकारीलाई अदालतमा उपस्थित गराइएको थियो।
अदालतको पछिल्लो आदेशसँगै सामाजिक सञ्जालबाट चर्चामा आएकी तुलसा अधिकारी अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म जेलमै बस्नुपर्ने भएको छ।






































