काठमाण्डौ । राप्रपाका केही पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवम् कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

राप्रपाको मूल नेतृत्वमा देखिएको वैचारिक विचलन, स्वेच्छाचारिता र आत्मकेन्द्रित शैलीका कारण पार्टी परित्याग गर्नु परेको नेताहरूको भनाइ छ  । संयुक्त वक्तव्यमा उनीहरुले पार्टीको स्थापनाकालीन आदर्श 'संवैधानिक राजसंस्था' लाई लत्याउँदै नेतृत्वले केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई वर्तमान सरकारको 'संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण' गर्ने न्यूनतम साझा कार्यक्रममा साझेदारी गरेको जिकिर गरेका छन् ।

पार्टी पत्यिाग गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजसंस्था पूनर्स्थापनाका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भए जबकि संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटै पनि प्रस्ताव दर्ता गरिएन ।’

जुन मान्यता र उद्देश्य लिएर राप्रपाको स्थापना भएको थियो, ती सब नामेट पार्ने मनोवृत्ति भएको हुँदा पार्टी परित्याग गर्नुपरेको विज्ञप्तिमा लेखिएको छ ।