काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले ५० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने उपभोक्तामाथि ५ प्रतिशत कर लगाउने निर्णयको कडा विरोध गरेका छन्।


पूर्व ऊर्जामन्त्रीसमेत रहेका घिसिङले बजेटमा राखिएको उक्त व्यवस्था हटाउन माग गरेका हुन्।उनले यो निर्णय आम नागरिकको हितविपरीत भएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्। स्वदेशमै उत्पादन भएको स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बेला सरकारले उल्टै कर थपेर जनतालाई थप आर्थिक भार बोकाउन खोजेको उनको आरोप छ।


घिसिङले अधिकांश ५० युनिटभन्दा बढी बिजुली प्रयोग गर्नेहरू सामान्य परिवार नै भएको उल्लेख गर्दै यस निर्णयले लाखौं घरधुरीको मासिक खर्च बढ्ने बताएका छन्। उनले यस्तो नीति जारी रहे विद्युतीय चुलोको प्रयोग घट्ने र नागरिक फेरि ग्यासतर्फ फर्किन सक्ने चेतावनी दिएका छन्।


उनको भनाइमा सरकारले ऊर्जा रूपान्तरण र हरित अर्थतन्त्रको लक्ष्यलाई कमजोर बनाउने कदम चालेको छ। त्यसैले उपभोक्तामाथि थपिएको ५ प्रतिशत कर तत्काल खारेज गर्नुपर्ने उनको जोडदार माग छ।