काठमाडौं— डडेल्धुराको परशुराम नगरपालिका–५ का सशस्त्र प्रहरी जवान र एक स्थानीय पुरुष बेपत्ता भएका छन्। बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत जवान ओमप्रकाश पुन मगर र ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन रहेका उनीहरू नातामा मामा–भान्जा पर्ने खुलेको छ।

महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेपछि नदीले बगाएको हुन सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी अभियान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।