चितवन। चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन, संयुक्त अनुसन्धान सेल सञ्चालन हुँदै आएका छन् । अहिले निकुञ्ज प्रशासनले चार तालिमप्राप्त कुकुरसमेत निकुञ्जको सुरक्षामा प्रयोग गर्दै आएको छ । यस्तै, रियल टाइम मनिटरिङ, सिसीटिभी क्यामेराबाट मनिटरिङ्, ड्रोन, भेइकल ट्याकिङ रेकड सिस्टमलगायतका प्रविधिबाट निकुञ्जको सुरक्षा गरिएको छ । उहाँका अनुसार यस बाहेक पैदल, साइकल, हात्ती, डुङ्गा र सवारीसाधनबाट गस्ती गरिँदै आइएको छ ।प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा महत्त्वपूर्ण सफलता प्राप्त गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रविधिको प्रयोगसँगै वन्यजन्तुको अपराधमा संलग्नलाई पक्राउ गर्न र चोरीसिकारी न्यूनीकरण गर्न सफल भएका छौँ ।” यसबाट विभिन्न वन्यजन्तुको अखेटोपहारहरू लिएर हिँडेका व्यक्तिसमेत नियन्त्रण गर्न सकिएको उहाँले जानकारी दिनुभयो । वन्यजन्तु संरक्षणमा प्रविधिको प्रयोगसँगै साझेदार संस्थाहरूको ठूलो सहयोग रहेको उहाँले बताउनुभयो ।
स्थानीयस्तरमा परिचालन हुने युवा परिचालन समिति, नेपाली सेना, निकुञ्जका कर्मचारीको अथक प्रयासले मात्र चोरीसिकारी न्यूनीकरण सम्भव भएको उहाँको भनाइ छ ।





































