कर्णाली। कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतमातहतका कार्यालयलाई निर्देशन दिइएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जिल्ला ट्राफिक कार्यालय तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरूलाई निर्देशन दिनुभएको हो । आज बसेको भर्चुअल बैठकमार्फत उहाँले ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा संक्षिप्त जानकारी तथा निर्देशन दिनुभएको हो ।

ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले मातहतका कार्यालयहरूलाई आवश्यक निर्देशन दिइएको उहाँले बताउनुभयो । “मुलतः ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट गरेका काम कारबाहीलाई प्रभावकारी कार्यान्वयन गर्न, गैरव्यावसायिक आचरण र व्यवहार नियन्त्रण तथा नागरिकमैत्री सेवा प्रवाहमा विशेष जोड दिन निर्देशन गरेको छु”, उहाँले भन्नुभयो ।

 प्रहरी उपरीक्षक रिजालले ट्राफिक व्यवस्था तथा सडक सुरक्षालाई सुदृढ बनाउन आफ्नो क्षेत्रका सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न ट्राफिक प्रमुखहरूलाई सुझाउनुभयो । कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका निम्ति आवश्यक रणनीति अपनाउन सक्रिय भूमिका खेल्न निर्देशन गरिएको उहाँको भनाइ थियो ।

 उक्त बैठकमा उपस्थित ट्राफिक प्रमुख सबैले आआफ्नो क्षेत्रमा भोगेका, समस्या चुनौतीसहित अनुभव प्रस्तुत गरेका थिए । ती समस्या समाधानका निम्ति उहाँले आवश्यक मार्गनिर्देशन प्रदान गरिएको जनाउनुभयो ।