काठमाण्डौ  ।  प्रेस सेन्टर नेपालका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष गुनाराम घिमिरेसहित ७ जनाले सामूहिक राजीनामा दिएका छन्।

रूपन्देहीमा सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले संगठनको साधारण सदस्य समेत नरहने गरी केन्द्रीय अध्यक्षसमक्ष राजीनामा बुझाएको जानकारी दिएका हुन्। लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख अमिक शेरचनका प्रेस सल्लाहकार समेत रहिसकेका घिमिरेले अबदेखि आफूहरू स्वतन्त्र रूपमा सक्रिय रहने बताएका छन्।घिमिरेसँगै राजीनामा दिनेहरूमा प्रेस सेन्टरका पूर्व केन्द्रीय सदस्य तथा रूपन्देहीका पूर्व जिल्ला अध्यक्ष भुवन कार्की, पूर्व जिल्ला उपाध्यक्ष शारदा शाही, पूर्व जिल्ला सचिव मोहन न्यौपाने, सहसचिव कल्पना घिमिरे तथा जिल्ला सदस्यहरू प्रकाश पाण्डे र नेत्र रुचाल रहेका छन्।

उनीहरूले सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा संगठनबाट अलग भई स्वतन्त्र रहने उल्लेख गरिएको छ।