तुलसीपुर। घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि गुर्जेखोलादेखि बेलझुन्डीसम्मका विद्युत् पोल हटाइएको छ । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रअन्तर्गत पर्ने सोही क्षेत्रमा पोल हटाएर चार लेन सडक निर्माणको कामलाई अघि बढाइएको छ ।
घोराहीको सर्रादेखि घोराही बजारसम्मको पोल निकाल्ने काम भइरहेको छ । अबको केही समयमा घोराही कार्यक्षेत्रका सबै पोल हटाउनेगरी तयारी थालिएको घोराहीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका साइड इन्चार्ज भुपेन्द्र बाँठाले बताउनुभयो ।
“सर्रा क्षेत्रमा फिजिकल भेरिफिकेसन गर्ने कार्य भइरहेको छ, त्यसपछि सर्रादेखि घोराहीसम्मका पोल निकाल्छौँ । घोराहीदेखि बेलझुन्डीसम्म साढे चार सय बढी पोल निकाल्नु पर्नेछ”, उहाँले भन्नुभयो ।
साइड इन्चार्ज बाँठाका अनुसार चार लेनअन्तर्गत घोराही विरतणको क्षेत्र तुलसीपुर–१८ को बेलझुन्डीसम्म पर्छ । बेलझुन्डीदेखि तुलसीपुरसम्मको कार्यक्षेत्र भने तुलसीपुर वितरण केन्द्रको पर्छ । तुलसीपुर क्षेत्रमा पनि ३०० भन्दा बढी पोल निकाल्नुपर्ने छ । तुलसीपुर क्षेत्रका पनि अबको केही समयमा निकाल्ने तयारी रहेको छ । उक्त सडकखण्डमा ११ केभी र ३३ केभी लाइन रहेका छन् ।
त्यसका लागि कार्यालयको आदेश आइसकेको डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले बताउनुभयो । साथै सडक बीचमा पर्ने ५९ रुख पनि हटाउने प्रक्रिया अघि बढेको छ । ती रुखमा छपान गर्ने (चिह्न लगाउने) काम भइसकेको उहाँले बताउनुभयो । अबको केही समयमा रुख पनि हटाउने काम हुने प्रमुख विष्टले बताउनुभयो ।
हाल चार लेनमा पर्खाल निर्माण, कल्भर्ट निर्माण, माटो कटानको काम जारी छ । श्री दिवा–बन्दना भगवती जेभीले सडक स्तरवृद्धिको काम गरिरहेको छ । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चार लेन बनाइने गरी सम्झौता भई काम अघि बढेको हो । उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्र हुनेछ भने चौडाइ चार लेनको हुनेछ । बीचमा मेडिएन र दुवैतर्फ दुई–दुई लेनको हुने उहाँले बताउनुभयो ।
सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रको काम सुरु हुनेछ । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको थियो । तर, निर्माणको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । जसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्र गरिनेछ । यसले सडकलाई थप मजबुत बनाउनेछ । सम्झौता भएको मितिले ३६ महिनामा सक्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालका प्रमुख विष्टले बताउनुभयो । गएको २४ असारमा भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा उक्त सडक चार लेनको काम हुन लागेको हो ।
उक्त सडक चार लेन बनाउन यसअघिको निर्माण कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्दपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो । तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयअनुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडक बीचमा पर्ने सेवारखोला, हापुरखोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।





































