काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशी समाज निर्माणका लागि महिलामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । अन्तरराष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिलाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले सो आवश्यकता औँल्याउनुभएको हो ।
उपराष्ट्रपति यादवले पछिल्लो समय नेपाली महिलाहरूले शिक्षा, राजनीति, समाजसेवा, अर्थतन्त्र, संस्कृतिलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसमा निरन्तरताले मुलुकलाई समृद्धि र प्रगतितर्फ अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ, “महिलाको सबलीकरणले मात्र सामाजिक न्याय, आर्थिक समानता र राजनीतिक स्थिरता सम्भव हुन्छ, महिला अधिकार सुनिश्चित गर्नु मानवअधिकारको आधारस्तम्भ हो, गरिबी अन्त्य, लैङ्गिक उत्तरदायी नीति, हरित अर्थतन्त्र र सामाजिक न्यायमा केन्द्रित भएर अघि बढ्दामात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ ।”
महिला सशक्तीकरण, समानता, शिक्षा, स्वास्थ्य, आत्मनिर्भरता र सम्मानजनक सहभागिताका पक्षमा वकालत गर्ने यो दिवसले समाजलाई समावेशी र न्यायपूर्ण बनाउन प्रेरणा दिने उल्लेख गर्दै उहाँले महिलाको योगदानलाई सम्मान गर्दै विभेद, हिंसा, उत्पीडन र अन्यायपूर्ण परम्परालाई अन्त्य गर्ने सङ्कल्प लिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
सन्देश भनिएको छ, “वैदिककालदेखि नै महिलालाई देवी स्वरूपमा सम्मान गरिएको हाम्रो परम्परा आज पनि जीवित छ, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ भन्ने संस्कृत वचनले महिलाको सम्मानलाई देवत्वसँग जोडेको छ, छोरीलाई लक्ष्मीको आगमन मान्ने हाम्रो संस्कृतिले महिलाको स्थानलाई उच्च बनाएको छ”, उपराष्ट्रपति यादवले अन्तरराष्ट्रिय महिला दिवसले समाजमा लैङ्गिक समानता, सम्मान, समावेशिता र प्रगतिलाई सबल बनोस् भनी कामना पनि गर्नुभएको छ ।






































