रुपन्देही। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ का उम्मेदवारका बीचमा सालिन प्रचार शैली देखिएको छ । प्रचारप्रसारमा अन्य पार्टीका उम्मेदवारको आलोचना भन्दा आफ्ना चुनावी मुद्दालाई आम मतदातालाई बुझाउने गरी प्रचार अभियानमा उहाँहरु लाग्नुभएको छ ।

नेकपा (एमाले) का उम्मेदवार बिष्णुप्रसाद पौडेल निर्वाचन चुनावी प्रचारप्रसारका हरेक कार्यक्रम, भेटघाट र छलफलमा आफूले यस क्षेत्रमा अहिलेसम्म गरेका कामका बारेमा मतदातालाई बुझाउने र आगामी योजनाका बारेमा बुझाउने गर्नुहुन्छ । “चुनावका बेला अन्यलाई गाली गर्ने, आलोचना गरेर हाम्रो समाजको भावनात्मक सम्बन्धमा बिगार्नु भन्दा हामीले यस क्षेत्रको विकासका लागि विगतमा गरेका काम जनतालाई बुझाउन सके मात्र प्रयाप्त हुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले अरुको आलोचना भन्दा जनता माझ हामीले विगतमा गरेका काम र आगामी दिनमा यहाँको विकास र समृद्धिका लागि गर्ने योजनाका बारेमा जनतालाई बुझाउँदा पुग्छ ।”

निर्वाचन प्रचारप्रसारका क्रममा उहाँले यस क्षेत्रमा आफू पटक–पटक निर्वाचित भएर गएपछि गरेका विकास निर्माणका कामको फेरहिस्तनै प्रस्तुत गर्नुहुन्छ । संसदीय निर्वाचनमा पटकपटक निर्वाचित भएपछि उहाँले सरकारमा विभिन्न मन्त्रालयको जिम्मेवारी निर्वाह गर्नुभएका पौडेलले तीन कार्यकाल उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारीमा रहनुभयो ।

नेता पौडेल राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्ति भएकाले जिल्लाको मुख्य केन्द्र मानिने क्षेत्र नं २ मा पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग यसपटक प्राय सबै नयाँ प्रतिस्पर्धी चुनावी मैदानमा नयाँ छन् । नयाँ उम्मेदवारको चुनावी प्रचारप्रसार शैली पनि निक्कै भद्र र शालिन देखिन्छ । यसैले पनि यहाँका मतदाताबाट उम्मेदवारले राम्रो प्रशंसा पाएका छन् ।

नेपाली कांगे्रसका तर्फबाट यही निर्वाचन क्षेत्रमा उम्मेदवार चुन्नप्रसाद पौडेलको चुनावी प्रचारप्रसारको शैली पनि भद्र र शालिन रहेको देखिन्छ ।

उहाँले राजनीतिक भन्दा सामाजिक क्षेत्रमा आफूले गरेका योगदानसहित मतदाता माझ प्रस्तुत हुनुहुन्छ । व्यावसायिक क्षेत्रबाट आफूले यस क्षेत्रको धार्मिक, सामाजिक र व्यवसायीक क्षेत्रमा रोजगारी जस्ता विषय उहाँका चुनावी मुद्दा बनेका छन् । उहाँले पनि आफ्नो विगतको काम र आगामी दिनमा राजनीतिलाई सामाजिक क्षेत्रको रुपमा लैजाने मतदाता माझ प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।

उहाँले रुपन्देही जिल्लालाई शिक्षा र स्वास्थ्यको हवको रुपमा विकास गर्ने साथै उद्योग व्यापार क्षेत्रमा लगानी मैत्री कानुन निर्माणमा आफ्नो प्राथमिकता रहने चुनावी प्रतिबद्धता जनाउने गर्नुभएको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट यस क्षेत्रमा उम्मेदवार बनेका सुरज पाण्डे युवा नेता हुनुहुन्छ । यस क्षेत्रका लागि नौलो अनुहार रहेपनि उहाँको बाबुको राजनीतिक विरासतले मतदाता माझ पुग्न सहज बनेको छ । उहाँका बाबु भक्तिप्रसाद पाण्डे २०६४ सालमा एमाले नेता पौडेलसँग चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो । २२ वर्षपछि उनै एमाले नेता पौडेलसँग लडन पुनः छोरा पाण्डे चुनावी मैदानमा आउनु भएको छ ।

तत्कालीन माओवादी जनयुद्धकाल देखिनै बाबु भक्तिप्रसाद पार्टीको केन्द्रीय नेतृत्वसँग जोडिएर योगदान गरेकाले उहाँले पनि बाबुकै शैलीमा मतदाता माझ सहज र सरल भएर प्रस्तुत हुनुहुन्छ । यसँगै उमेरदेखि तत्कालीन माओवादी वरिष्ठ नेता डा बाबुराम भट्टराईको सचिवालयमा बसेर काम गरेकाले पनि उहाँको सरल र सहज देखिनुहुन्छ ।

युवा उम्मेदवार पाण्डे आफु जेनजी समूहका भावना र पुराना पाका राजनीतिक नेतृत्वको अनुभवलाई एकसाथ अघि बढाउने ऐजेण्डा बनाउनुभएको छ । उहाँले आफ्नो यो अभियानले यस क्षेत्रको समग्र विकासलाई समेट्ने बताउनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेल चुनावी मैदानमा हुनुहुन्छ ।

रास्वापाबाट उम्मेदवार बनेका खरेल अधिवक्ता हुनुहुन्छ । उहाँले पनि मतदाता माझ भेट्दा जेनजी आन्दोलन पछिको उपलब्धिलाई संस्थागत गर्ने, भ्रष्टाचार निवारण र सुशासनका विषयलाई चुनावी मुद्दा बनाएर मतदाता माझ पुग्नुभएको छ ।

यस्तै रुपन्देही– २ मा अर्का युवा उम्मेदवार डा कलम भुसाल (निकोलस) पनि प्रतिस्पर्धामा रहनुभएको छ । चिकित्सकसमेत रहेका भुसाल नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बन्नुभएको हो । यसअघि विसं २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका डा भुषालको कानुनी प्रक्रियाका कारण निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो ।

यो निर्वाचन क्षेत्रमा एमाले नेता पौडेलले विसं २०६४ को पहिलो संविधानसभा, विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचन र विसं २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा लगातार निर्वाचित हुनुभएको छ । पौडेलले २०६४ मा तत्कालीन माओवादी नेता भक्ति पाण्डे, २०७० मा तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, २०७४ मा नेपाली कांग्रेसका नेता युवराज गिरी र २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का गणेश पौडेललाई पराजित गर्नुभएको थियो ।

रुपन्देही क्षेत्र नं २ बाट यसपटक ४० जनाले उम्मेदवारी दर्ता गरेका छन् । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा एमालेका उपाध्यक्ष पौडेल, कांग्रेसका व्यवसायीक पृष्ठभूमिका पौडेल, नेपाली कम्युष्टि पार्टीबाट युवा उम्मेदवार पाण्डे र रास्वपाका युवा उम्मेदवार खरेलबीच हुने देखिन्छ ।

क्षेत्र नं २ मा बुटवल उप–महानगपालिकाका १ देखि १३ नम्बर सम्मका वडा, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडा र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्दछन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा १९ दलका १९ र स्वतन्त्र २० गरी ३९ जना चुनावी मैदानमा छन् । रुपन्देही–२ मा सैनामैना नगरपालिकाको १ देखि ४ नम्बर वडा, तिलोत्तमा नगरपालिकाको १ देखि ६ नम्बर वडा र बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडासम्म समेटिएको छ । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा एक लाख ३५ हजार ५० जना मतदाता रहेका छन् ।

उम्मेदवारले आफैले जित्ने दाबी गरिरहेपनि कसले बाजी मार्छ भन्ने अवस्था अहिल्यै भन्न सकिने अवस्था छैन । एमाले र कांग्रेसको परम्परागत मतसँगै नयाँ थपिएका र बसाइँ सरेर आएका मतदाताको झुकाव कता रहन्छ भन्ने कुराले नै जित–हारको निक्र्यौल गर्नेछ । निर्वाचन नजिकिँदैे गर्दा दलहरु तथा तिनका उम्मेदवारले प्रचारप्रसार गर्ने क्रममा आचारसंहितालाई पनि पालना गर्न निर्वाचन आयोगले अनुरोध गरेको छ ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आफूहरुले नियमित आचारसंहिता कार्यान्वयन गराउन अनुगमनलाई निरन्तरता दिइएको बताउनुभयो ।

उहाँले आचारसंहिता विपरीतका छिटफुट घटना बाहेक सबै क्षेत्रमा सौहाद्रपूर्ण अवस्थानै रहेको पाइएको बताउनुभयो । रुपन्देही निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले पनि क्षेत्रमा निर्वाचन आचारसंहितालगायत सुरक्षाका विषयमा हालसम्म कुनै समस्या नदेखिएको बताउनुभयो । उहाँले पनि अनुभवी र सचेत उम्मेदवारसँगै सचेत मतदाता भएको क्षेत्रमा प्रायः सबै उम्मेदवारको प्रचार शैलीले आचारसंहिता उल्ङ्घनमा खासै गुनासो नआएको बताउनुहुन्छ ।