म्याग्दी। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले म्याग्दीको बेनीदेखि ढोरपाटन हुँदै रुकुम जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी आज आयोजना गरेको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन छ वर्षअघि हिमाली जिल्लामा सूचीकृत म्याग्दीमा हिमाली जिल्लाअनुसारको सेवासुविधा कार्यान्वयनमा पनि ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
“बेनीदेखि दरबाङ–ताकम–मुना–जलजला–ढोरपाटन हुँदै रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ६५–७० किलोमिटर छोटो पर्ने भएकाले पूर्वी रुकुमको उम्मेदवार भएको नाताले पनि यसमा मेरो प्राथमिकता हुनेछ”, उहाँले भन्नुभयो, “छ वर्षअघि हिमाली जिल्लामा सूचीकृत भएको म्याग्दीमा हिमाली जिल्लाको मापदण्ड लागू गराउन मेरो पहल रहने विश्वास दिलाउन चाहान्छु ।”
असहज परिस्थितिमा नेपालमा निर्वाचन हुन लागेको बताउँदै दाहालले आसन्न निर्वाचनलाई सामान्य नसोच्न कार्यकर्तालाई आग्रह गर्नुभयो । राजनीतिक स्थिायित्व, सुशासन, सामाजिक न्याय, विकास र रोजगारीको मुद्दालाई नेकपाले प्राथमिकता दिएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले यसपाली चुनावअघि कुनै पनि राजनीतिक दलहरूसँग तालमेल र सहकार्य नहुनेमा स्पष्ट रहन आग्रह गर्नुभयो ।
“विभिन्न प्रशङ्गमा प्रतिस्पर्धी दलका नेतासँग भएको भेटघाटलाई लिएर पार्टी पङ्क्तिमा तरङ्ग र अन्योलता सिर्जना नहोस्”, उहाँले भन्नुभयो, “यसपालीको चुनावमा हाम्रो आफ्नै तागतमा लडेर सकारात्मक परिणाम निकाल्न मेहनत गरिरहेका छौँ ।” देशलाई सही नेतृत्व गरेर राजनीतिक निकास दिने, स्थिरता र जनचाहनाअनुसार सुशासन तथा विकासमा जोड दिने दाहालले बताउनुभयो ।
असल राजनीतिक संस्कार प्रदर्शन गर्दै सबैलाई समदूरी तथा सन्तुलनमा राखेर अगाडि बढ्ने नेकपाको नीति रहेको बताउँदै आसन्न चुनावमा ठूलासभा र औपचारिक कार्यक्रममाभन्दा बढी मतदातासँग भेटघाट र सामाजिक सञ्जालको प्रयोगमा जोड दिने दाहालले बताउनुभयो ।
म्याग्दीमा नेकपाबाट प्रतिनिधिसभा सदस्यका उमेद्वार अर्जुन थापाले भौतिक पूर्वाधारको जगमा म्याग्दीलाई कृषि, पर्यटन र जलविद्युत् क्षेत्रको सम्भावनामार्फत विकसित र समृद्ध बनाउने योजना रहेको बताउनुभयो ।
“केन्द्रीय राजनीतिमा म्याग्दीको पहुँच बढाउने, नीति, नियम, बजेट र योजनामा म्याग्देलीको भावना, माग र आवश्यकतालाई सम्बोधन गराउन म उम्मेदवार बनेर आएको छ”, उहाँले भन्नुभयो, “पूर्वाधार, जलविद्युत्, पर्यटन र कृषिमार्फत म्याग्दीलाई समृद्ध र विकसित बनाउने हाम्रो योजना छ ।”
नेकपाका नेता गोविन्द पौडेलले म्याग्दीका छवटै स्थानीय तह र ४५ वटै वडा तहमा घरदैलो गरेर चुनाव प्रचारमा जुटेको जानकारी दिनुभयो । उहाँले म्याग्दीका विकासका मुद्दामा संयोजक दाहालको ध्यानाकर्षण गराउनुभएको थियो ।






































