कैलाली – आगामी फागुन २१ गते हुने निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ का नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले 'प्रतिबद्धता पत्र' सार्वजनिक गरेका छन्। सुशासन, विकास, रोजगारी सृजना, समृद्धी, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर योजना अघि सारेका छन्। निर्वाचित भएपछि पाँच वर्षमा टीकापुरलाई विकासको दृष्टिकोणमा नमुना बनाइने उनले बताए। अन्यत्रबाट टीकापुर बसाइँसराइ गरेर बस्ने हुने गरी विकास गर्ने उनले बताए।

कर्णाली नदीमा स्थायी तटबन्धन गरी दुई लाइनको बाटोसहित कर्णाली कोरिडोर निर्माण गरेर पर्यटन विकास गरेर रोजगारी सृजना गर्ने उनको एजेण्डा रहेको छ। रानी जमरा कुलरियाको कमाण्ड क्षेत्रमा रहेको कृषि भूमिलाई चक्लाबन्दी गरी कृषि उद्योगका रूपमा स्थापित गर्ने र कृषि भूमिको करमा सहुलियतको नीति बनाउन पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन।

​न्यौपानेको प्रतिबद्धता पत्रमा सडक सञ्जालको स्तरोन्नतिलाई विशेष प्राथमिकता दिएका छन। टीकापुर-जोशीपुर-भजनी सडक र बौनिया-जोशीपुर-भजनी सडकलाई चार लेनमा स्तरोन्नति गर्ने उनले बताए। बौनिया-लोहागढ-सिमराना-झबही- नबलपुर- मरियाघाट सडकलाई चार लाइनमा स्तरोन्नति गरिने उनको भनाइ छ।

सेती लोकमार्गको द्रुत विस्तार र चिसापानी-जङ्गलघाट मंगलसेन सडकलाई मुख्य प्राथमिकतामा राखी बजेट विनियोजन र शिघ्र कामका लागि पहल गर्ने उनले बताए। लामो समयदेखि बन्द रहेको टीकापुर एयरपोर्ट सञ्चालन वा वैकल्पिक स्थानमा नयाँ विमानस्थल निर्माणका लागि पहल गर्ने उनको एजेण्डा छ।

टीकापुरको सुव्यवस्थित 'मास्टर प्लान' कार्यान्वयन गरी यसलाई आधुनिक शहरका रूपमा विकास गर्ने उनको भनाइ छ।

​स्वास्थ्य क्षेत्रमा टीकापुर अस्पताललाई गेटा मेडिकल विश्वविद्यालयको आङ्गिक क्याम्पस वा मेडिकल कलेजको रूपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, अस्पतालमा सिकलसेल र जलन उपचारका लागि छुट्टै विभाग स्थापना गर्ने योजना छ।

​प्राविधिक शिक्षातर्फ टीकापुरलाई शैक्षिक केन्द्र बनाउने र हरेक पालिकामा खेलकुदका न्यूनतम पूर्वाधारसहितको 'स्पोर्ट्स एकेडेमी' सञ्चालन गर्ने लक्ष्य राखिएको छ।​पर्यटन प्रवर्द्धनका लागि टीकापुर पार्कलाई आधुनिक 'वाटर पार्क' का रूपमा विकास गर्ने उनको एजेण्डा छ।  सती बजारमा रहेको पद्यप्रकाशेश्वर महादेव मन्दिरलाई अन्तर्राष्ट्रिय शिवधाम बनाउने उनको एजेण्डा छ। साथै, डल्फिन संरक्षण क्षेत्रलाई पर्यटकीय हब बनाउने र थारु बाहुल्य क्षेत्रमा थारु संग्रहालय निर्माण गर्ने योजना छ।

​यसैगरी भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि लालपुर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिने प्रतिबद्धता न्यौपानेले व्यक्त गर्का छन्। कृषिमा आधुनिकीकरणका लागि 'आधुनिक कृषि औजार औद्योगिक केन्द्र' स्थापना गर्ने र कृषि सामग्रीमा सहुलियत प्रदान गर्ने नीति लिने उनले बताएको छ।

​उम्मेदवार न्यौपानेले निर्वाचित भएपछि आफ्नो सचिवालयमार्फत जनताका गुनासा सुन्ने र प्रत्येक आर्थिक वर्षमा खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता उनले जनाएको छ। 'म आफूले प्राप्त गर्ने सेवा सुविधाबाट यस क्षेत्रका विपन्न परिवारका सन्तानलाई माध्यमिक तहसम्मको शिक्षामा  सहयोग गर्नेछु,' उनले भने।