काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोहको आइतबार उद्घाटन गर्दै उनले भने, ‘देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक छ।’

साथै उनले राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपरिछ नै राजनीतिक स्थायित्व सम्भव हुने बताए।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र भएको र हाम्रो राष्ट्रिय गानले व्यक्त गरेझैँ नेपाल सयौँ थुँगाका फूलहरू मिलेर बनेको सुन्दर फूलबारी भएको उल्लेख गर्दै उनले यस फूलबारीलाई अझ सुन्दर, समुन्नत र सन्तुलित बनाउन सबै जाति, भाषा, संस्कृति र समुदायको समान पहुँच, समान अवसर र समान सम्मान अपरिहार्य हुने बताएका छन्।