काठमाण्डौ  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेता व्यवस्थापनका लागि ३ महिनामै पार्टीको विधान उल्ट्याउने प्रस्ताव गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल झोकिएका छन्।

यद्यपि ओलीले बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बसेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकबाट दसौँ महाधिवेशनकै व्यवस्थाअनुरूप पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने गरी विधान संशोधन गर्ने निर्णय गराइसकेका छन्।

नेकपा एमालेको जारी ११ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रको सुरू भएको छ । बन्दसत्र भृकुटीमण्डपमा सुरू भएको हो । बन्दसत्रको अध्यक्षता पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने र अध्यक्ष मण्डलमा निवर्तमान कमिटीका सबै पदाधिकारी हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

आजको बन्दसत्रले महाधिवेशनका प्रक्रियागत विषयलाई अनुमोदन गर्दै बाँकी जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने छ । बन्दसत्रको शुरूमा विश्वका विभिन्न मुलुकका कम्युनिष्ट पार्टीले पठाएका शुभकामना सन्देश प्रस्तुत हुनेछ ।

नयाँ नेतृत्व चयन हुने महाधिवेशनमा अध्यक्ष केपी ओली दोहोरिने दाउमा छन् भने उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिएका छन् । 

बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् भने बन्दसत्रमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । यस्तै अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पनि सम्बोधन गर्नेछन् भने त्यसपछि केन्द्रीय कमिटी बैठकका निर्णय अनुमोदनसहित निर्वाचनसम्बन्धी कार्यतालिकालगायत पेस हुनेछ ।