जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने भएको छ । सोमबार बेलुका सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको हिजोको इजलासले २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको हो ।
‘मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशीघ्र टुङ्गो लगाउन वाञ्छनीय देखिएकाले प्रस्तुत आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादवलाई नेपालको संविधानको धारा १६८(४) बमोजिमको विश्वासको मत लिने प्रस्ताव मधेश प्रदेशसभामा निर्णयार्थ पेस गरी गराई विश्वासको मत प्राप्त गरेमा सोहीबमोजिम गर्नु,’ आदेशमा भनिएको छ, ‘प्राप्त गर्न नसके माथि प्रकरणमा उल्लेख भएबमोजिम नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्प समेतका विषयमा आवश्यक र उपयुक्त पहल गरी अर्को सरकार गठन वा मुख्यमन्त्री नियुक्ति सम्बन्धमा कारबाही गर्नू गराउनू ।’
गएको कात्तिक २४ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता यादवलाई असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा २ को प्रक्रिया नअपनाई उपधारा ३ अन्तर्गत असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नियुक्ति गर्ने निर्णय बदरको माग गर्दै अर्जुन साहले रिट दायर गरेका थिए ।
नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुनु पर्नेमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले १६८ (३) बमोजिम मधेश प्रदेशसभाका सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्री यादवको नियुक्ति गैर संवैधानिक भएको तर्क गर्दै उनको नियुक्त बदरको माग गर्दै मधेश प्रदेशका ७३ जना सांसदहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।






































