काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ ।
आगामी मंसिर २७ गते महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित सडक नजिकैको खुला चौरमा गर्न लागिएको हो । काठमाडौंको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि एमालेले महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरमा गर्ने भएको हो । महाधिवेशनको बन्द सत्र भने काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमै हुने भएको छ ।
यसबारेमा निर्णय गर्न महासचिव शंकर पोखरेल संयोजक रहेको सचिवालयले आवश्यक निर्णय लिनेछ । ‘भृकुटीमण्डपमा उद्घाटन गर्दा यातायात व्यवस्थापनदेखि कार्यकर्ता अटाउनसमेत समस्या हुने देखियो’, एमालेका एक नेताले भने, ‘भक्तपुरमा गर्दा हरेक हिसाबले भिड व्यवस्थापन गर्न सहज हुने भयो । यातायात पनि कम अवरुद्ध हुने भएकोले यो निर्णय गर्न लागिएको हो।’
एमालेले यसअघि एघारौं महाधिवेशन पोखरामा गर्ने निर्णय लिइसकेको थियो । तर अन्तरिम सरकारले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यका छाड्न नदिने गरि स्थान हदमा राखेकाले काठमाडौं सारिएको थियो ।
यसअघि ५ मंसिरमा बसेको सचिवालय बैठकले विभिन्न समिति बनाइसकेको छ । त्यसबेला प्रतिनिधि व्यवस्थापन समिति संयोजक काशीनाथ अधिकारी र माधव ढुङ्गेल सचिव रहने गरी समिति गठन गरिएको थियो ।
त्यसैगरी प्रदीप ज्ञवाली र राजन भट्टराई जनपरिचालन समिति, छविलाल विश्वकर्मा संयोजक लालबाबु पण्डित सचिव रहेको आवास व्यवस्थापन समिति गठन भएको थियो ।
त्यस्तै खाद्य व्यवस्थापन समितिको संयोजक लेखराज भट्ट र भीष्म अधिकारी तथा गोकर्ण विष्ट र रचना खड्का रहेको यातायात समिति गठन भएको थियो ।
त्यस्तै रघुवीर र महेश बर्तौला रहेको अतिथि सत्कार समिति र पद्यमा अर्याल र राजेन्द्र प्रचार समिति गठन भइसकेको छ।
नेता भानुभक्त ढकाल र विनोद ढकाल स्वयंसेवक समिति र विनोद श्रेष्ठ र लोकबहादुर भण्डारी मञ्च व्यवस्थापन समिति तथा कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य समिति, विष्णु रिमाल र विना श्रेष्ठ आर्थिक समिति गठन भएको थियो ।
त्यस्तै महासचिव शंकर पोखरेल नेतृत्वमा पृथ्वी सुब्बा गुरूङ र योगेश भट्टराई रहेको सचिवालय समिति बनेको छ । उता, विजय सुब्बाको संयोजकत्वमा निर्वाचन संयोजन समिति बनाउने निर्णय एमालेले गरिसकेको छ ।






































