काठमाडौँ । मिरज ढुंगाना नेतृत्वको जेन जेड समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएको छ ।
सोमबार दिनभरि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्नका लागि सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाइल फोन अफ गरेर सम्पर्क समेत गर्न नचाहेको उनीहरूको आरोप छ ।
प्रधानमन्त्री सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम भएपछि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरवार दक्षिण गेट पुगेका उनीहरू गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किएका छन् ।
उनीहरूले जेन जेडहरूको आवाज सुन्ने धैर्यता राख्न प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले समेत मोबाइल फोन स्विच अफ गरेर सम्पर्कमा आउन नचाहेपछि दुःख लागेको जेन जेड अभियन्ताहरूले बताएका छन् ।
ढुंगाना समूहले सुशासनको पक्षमा कामै गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने निष्कर्षसहितको ज्ञापन पत्र प्रधानमन्त्री कार्कीलाई बुझाउने तयारी गरेको थियो ।
तर, टेलिफोन सम्पर्क नै हुन नसकेपछि सो समूहले सिंहदरबार दक्षिण गेटमा नै ज्ञापन पत्र भित्तामा टाँसेर फर्किएको छ ।





































