काठमाडौं— बारामा हुन लागेको राष्ट्रिय युवा संघको कार्यक्रममा सिमरा जान लाग्दा बुधरबार बिहान सिमरा विमानस्थलमा जेन(जी भनिएकाले नाराबाजी गरेर तोडफोडको प्रयास गरेपछि नेकपा एमालेका नेताहरू काठमाडौंमै रोकिएका छन् ।
काठमाडौंमा नै रोकिएका एमाले नेता महेश बस्नेतले सरकार र विपक्षी दलहरू आफूहरूको आन्दोलनको प्रभावबाट ‘आत्तिएका’ बताए ।
राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमका लागि पार्टी महासचिव शङ्कर पोखरेलका साथ सिमरा जान लागेका बस्नेतले विमानस्थल ‘क्लोज’ गरिएको र बाराको सिमरा क्षेत्रमा ‘कर्फ्युको अवस्था’ सिर्जना गरी आफूहरूलाई रोकिएको दाबी गरे।
तर पनि कार्यक्रम अवरुद्ध नभएको उनले बताएका छन् । ‘विमान स्थल क्लोज गरेर सिमरा क्षेत्रमा कर्फ्यु लगाएर हामीलाई जान रोके पनि कार्यक्रमस्थल बाराको परवानीपुरमा युवा संघका इञ्चार्ज राजीव पहारी, अध्यक्ष क्षितिज थेबे सहितका सबै नेता अहिले कार्यक्रम स्थलमै उपस्थित छन्, कार्यक्रम सुरु भएको छ,’ बस्नेतले भने ।
कार्यक्रममा माओवादी र मधेसवादी दलका ठूला सङ्ख्यामा नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने तयारी रहेको उनले बताएका छन् ।






































