काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ। स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै चिकित्सकले उनलाई अझै अस्पतालमै राख्न सल्लाह दिएका छन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन्। उनका अनुसार उपसभापति पूर्णबहादुर खड्काले बैठकमा देउवाको स्वास्थ्यसम्बन्धी ब्रिफिङ प्रस्तुत गरेका थिए।
“सभापति देउवाको टाउकोमा १२ टाँका लगाइएको छ। बोल्न असहज भएको छ भने उभिँदा चक्कर लाग्ने समस्या देखिएको छ। त्यसैले चिकित्सकले डिस्चार्ज नगरी केही दिन अस्पतालमै राख्ने निर्णय गरेका छन्,” विश्वकर्माले जानकारी दिए।
जेन–जी आन्दोलनको क्रममा देउवा दम्पतीमाथि लक्षित आक्रमण भएको थियो। सो क्रममा देउवाको गर्दन माथिको भागमा गम्भीर चोट लागेको थियो।