जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेन–जीले आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन् ।
संविधान दिवस २०८२ को उपलक्ष्यमा मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले अहिलेको गतिशिल जमानामा प्रविधि र पद्धतिमा परिवर्तन आएपनि देश चलाउनेहरु पुरानै मानसकिताका साथ काम गरिरहेकाले जेनजीले आन्दोलन गरेको बताए ।
उनले अहिलेको पिंढीलाई हरेक काम सहल र छिटो हुनेगरी चाहिनेमा सरकारी कार्यालहरुमा कुनै काम गर्न जाँदा घण्टौ लाग्ने र कहिलेकाँहि कयौं दिन कार्यालय धाउनुपर्ने हुँदा जेनजी पिढींलाई आक्रोस सृजना भएको बताए ।
उनले नेतादेखि सरकारी कार्यालयहरुका कर्मचारीहरुको मानसिकता विकास हुन नसकेकोले देश पनि पुरानै पद्धतिमा चलिरहेको बताए ।
नयाँ पिंढीले चाहे अनुसार काम गर्ने वातावरणका साथै आफ्नो मानसिकतालाई अपग्रेड गर्न आवश्यक रहेको मुख्यमन्त्री सिंहले बताए । उनले संविधान नयाँ आए पनि संविधानको दायरामा रहेर काम गर्नेहरुको मानसिकता पूरानै रहेको गुनासो गरे ।
मुख्यमन्त्री सिंहले अहिलेको संविधान उत्कृष्ट रहेपनि केही बुंदामा संशोधन गर्न आवश्यक रहेको बताए ।