काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सबैभन्दा ठूलो जेनजी विद्रोह त जनयुद्ध नै भएको दाबी गरेका छन् । 

शुक्रबार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित  कार्यक्रममा बताउँदै उनले जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ताको सहभागिता रहेको बताउँदै ठूलो विद्रोह जेनजी विद्रोह नै भएको दाबी गरे । 

उनले भने,‘जतिबेला हामीले विद्रोह सुरु गरेका थियौं, त्यो बेलापनि ९० प्रतिशत भन्दा धेरै जेनजी पुस्ता नै थिए । त्यसैले सबैभन्दा ठूलो विद्रोह जेनजी विद्रोह त जनयुद्ध नै हो । कसैले यसलाई हो कि होइन भनेर दुविधामा नपरौं ।’

त्यस्तै उनले संसद् विघटन गर्ने मात्र नभई संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउन भएका कसरत नजिकबाट हेर्ने र बुझ्ने मौका पाएको बताए । 

राष्ट्रपति रामचन्द्र पौडेल, सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन आफूले भूमिका खेलेको पनि उनको दाबी छ । 

‘मैले संसद् विघटन गर्ने मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउन के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने र नजिकबाट बुझ्ने मौका पाएँ । मैंले अन्तिममा समस्याको सहजीकरण गर्नेक्रममा रातभर बसेर राष्ट्रपति, सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकारमा गएर भएपनि संविधान बचाउनुपर्छ भनेर आग्रह गरेको हुँ,’ उनले भने ।

उनले जेनजीले उठाएका मागहरू आफूहरूले १० वर्ष अगाडि नै उठाएको भन्दै त्यो बेला आफूहरुको माग सुनेको भए अहिले जेनजी आन्दोलन गर्नुपर्ने अवस्था नआउने पनि धारणा राखे ।