काठमाडौं । मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा सार्वजनिक गर्दै एक प्रेस वक्तव्य जारी गरेको छ । 

पार्टीका उपसभापति पूर्णबहादुर खड्काद्वारा हस्ताक्षरित वक्तव्यमा प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधि, जनधनको क्षति, प्रमुख नेताहरूमाथिको आक्रमण, प्रतिनिधिसभा विघटन लगायतका विषयमा पार्टीको आधिकारिक विचार प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसले जेनजीद्वारा भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा युवाहरूको ज्यान जानु, सुरक्षाकर्मी घाइते हुनु र खर्बौंको भौतिक संरचना नष्ट हुनु अत्यन्तै दुःखद भएको जनाएको छ । पार्टीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारहरूप्रति समवेदना प्रकट गरेको छ ।

वक्तव्यमा उक्त घटनाको निष्पक्ष छानबिनको माग पुनः दोहोर्याउँदै सरकारले क्षतिको वास्तविक मूल्यांकन अविलम्ब सुरु गर्न आग्रह गरिएको छ ।

साथै, प्रदर्शनमा जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको र त्यसबाट संवैधानिक तथा प्रशासनिक संस्थानहरू, मिडिया हाउस, निजी घर र वित्तीय संस्थामा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ ।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित अन्य नेताहरूमाथि भएको भौतिक आक्रमणलाई अमानवीय र निन्दनीय बताएको छ ।

उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत वक्तव्यमा गरिएको छ । यस्तै, अन्य राजनीतिक दलका नेताहरू र कार्यकर्ताहरूमाथिको आक्रमणप्रति पनि भत्र्सना गरिएको छ ।

प्रतिनिधिसभा विघटनप्रति कडा आपत्ति जनाउँदै कांग्रेसले उक्त निर्णय संविधान, लोकतान्त्रिक मूल्य र सर्वोच्च अदालतको अघिल्ला फैसलाविपरीत भएको स्पष्ट पारेको छ ।

पार्टीले यसलाई अलोकतान्त्रिक र असंवैधानिक कार्य भनी ठहर गर्दै कार्यसम्पादन समितिको बैठकबाट विघटनको विरोधमा स्पष्ट धारणा सार्वजनिक भइसकेको स्मरण गराएको छ ।

कांग्रेसले सम्पूर्ण नेपाली जनतालाई एकजुट भई लोकतन्त्र, संविधान र शान्तिपूर्ण राजनीतिक प्रक्रियाको संरक्षणका लागि अघि बढ्न आह्वान गर्दै, पार्टी विद्यमान परिस्थितिमा एकताबद्ध भएर अघि बढ्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।