काठमाडौं – काठमाडौंको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको दोलखाको रायोको सागमा अत्यधिक मात्रा विषादी भेटिएको छ।

दोलखाबाट ईश्वर भारतीद्वारा ल्याइएको रायोको सागमा ८० प्रतिशतभन्दा बढी अर्गानोफस्फेट समूहको विषादी पाइएको कालीमाटीस्थित विषादी अवशेष दूर्त विश्लेषण प्रयोगशाला एकाइले जनाएको छ।

प्राविधिक मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भेटिएमा उक्त खाद्यपदार्थ पूर्ण रूपमा नष्ट गर्नुपर्ने प्रावधान छ। अर्गानोफस्फेट किरा मार्ने विषादीको रूपमा प्रयोग गरिन्छ र मानव स्वास्थ्यका लागि खतरनाक मानिन्छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा दैनिकरूपमा भित्रिने तरकारी तथा फलफूलको नमुना परीक्षण गर्दै आएको उक्त प्रयोगशाला एकाइले सुरक्षित उपभोगको सुनिश्चितता गर्न विषादी परीक्षणलाई नियमित रूपमा जारी राखेको छ।