काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालका कम्युनिष्ट पार्टीहरू सङ्घर्ष र विद्रोहका मोर्चामा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने कमजोर देखिएको टिप्पणी गरेका छन् ।

माजिक सञ्जालमार्फत पोखरेलले कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था र भविष्यबारे प्रश्न उठाउँदै ‘निर्मम समीक्षा’ को खाँचो औंल्याए । उनले क्रान्तिपूर्व सरकारलाई शक्ति सञ्चयको आधार मान्ने कम्युनिष्ट मान्यता व्यवहारमा लागू हुन नसकेको स्वीकार गरेका छन् । सरकारमा रहँदा जनमत र शक्ति बढ्नुको साटो उल्टै क्षयीकरण हुनु कम्युनिष्ट आन्दोलनको चुनौती बनेको उनको भनाइ छ ।

पोखरेलले भनेका छन्, ‘कम्युनिष्ट नेतृत्वको सरकार हुँदा देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम भए पनि जनसमर्थन भने बढ्नुको साटो आमरूपमा घट्न पुग्यो ।’

कम्युनिष्ट इतिहासमा २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार र २०७२ सालको केपी शर्मा ओली नेतृत्वको ९ महिने सरकारले मात्रै जनमत बढाउन सफल भएको दाबी उनको छ ।

२०८२ मा वामपन्थी आन्दोलनले असाधारण धक्का बेहोरेको उल्लेख गर्दै पोखरेलले अब पुरानै पाराले अघि बढ्न नसकिने बताएका छन् । आधारभूत वर्ग र समुदायका जनता किन कम्युनिष्ट पार्टीबाट टाढिँदै छन् र नेता-कार्यकर्तामा सामाजिक परिवर्तनको हुटहुटी किन मर्न थाल्यो भन्नेबारे निर्मम समीक्षा नगरी पुनर्जागरण सम्भव नभएको उनको भनाइ छ ।

‘हरेक समस्याका पछाडि कुनै न कुनै कारण हुन्छ र त्यसको समाधान पनि त्यसमै निहित हुन्छ । यो मार्क्सवादी मान्यता हो,’ पोखरेलले भनेका छन्, ‘तसर्थ समस्या छ भनेर भाग्ने होइन, सामना गरेर अघि बढ्ने हो ।’