काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहमति अनुसार तोकिएको अवधिभन्दा केही अगावै सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद सुम्पन आफू तयार रहेको बताएका छन्।

स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्चको कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।

ओलीले भने, "मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति हो। तर त्यो अवधि पूरा भएपछि मात्र सत्ताको हस्तान्तरण गर्नुपर्छ भन्ने होइन। बरु १०–१५ दिन अघिनै देउवाजीलाई पद हस्तान्तरण गर्न तयार छु।"

उनले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको गठबन्धन आगामी २०८४ सालको निर्वाचनसम्म कायम रहने पनि स्पष्ट पारे।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले युरोपमा स्थायी तथा अस्थायी रूपमा बसोबास गरिरहेका नेपालीलाई शुभकामना दिँदै, कठिन परिस्थितिमा रहेका नेपालीलाई नेपाल फर्केर आधुनिक कृषिमा सम्भावना खोज्न सुझाव पनि दिए।

प्रधानमन्त्री ओली स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अर्को कार्यक्रममा पनि सहभागी भए।

उनी संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन यही असार १४ गते स्पेन गएका थिए। प्रधानमन्त्री ओली असार २० गते साँझ ४:४५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।