काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच सशस्त्र प्रहरी बल (एपीएफ) ले नागरिकलाई शान्ति, सद्भाव र संयम कायम राख्न सार्वजनिक अपिल जारी गरेको छ। एपीएफ मुख्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा हिंसा, तोडफोड, आगजनी तथा कुनै पनि प्रकारका उत्तेजक गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गर्दै यस्ता गतिविधिले सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र एकतालाई गम्भीर क्षति पुर्‍याउने चेतावनी दिएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाली समाजको पहिचान आपसी सद्भाव, सहिष्णुता र संवाद रहेको उल्लेख गर्दै अहिलेको संवेदनशील परिस्थितिमा संयमता नै सबैभन्दा ठूलो जिम्मेवारी भएको जनाइएको छ।

विज्ञप्तिअनुसार पछिल्ला घटनासँग सम्बन्धित विषयमा कानुनी प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै अफवाह, भ्रामक सूचना र उत्तेजनात्मक अभिव्यक्तिले परिस्थितिलाई थप जटिल बनाउने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन एपीएफले सबै पक्षसँग आग्रह गरेको छ।Screenshot_2026-07-31-13-10-05-18_a23b203fd3aafc6dcb84e438dda678b6

सशस्त्र प्रहरीले कुनै धर्म, समुदाय वा समूहविरुद्ध घृणा फैलाउने, सामाजिक सद्भाव भड्काउने तथा हिंसात्मक गतिविधिलाई प्रोत्साहन गर्ने अभिव्यक्ति वा प्रचारप्रसार नगर्न पनि विशेष अपिल गरेको छ। यस्ता गतिविधिले राष्ट्रिय एकता कमजोर पार्ने मात्र होइन, समाजमा दीर्घकालीन अस्थिरता निम्त्याउन सक्ने एपीएफको भनाइ छ।

विज्ञप्तिमा नेपाली समाजले विगतदेखि संवाद, सहिष्णुता र आपसी समझदारीमार्फत जटिल समस्या समाधान गर्दै आएको स्मरण गराउँदै अहिले पनि त्यही मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ। एकअर्काको दुःखमा साथ दिने नेपाली समाजको मौलिक संस्कृतिलाई जोगाउनु सबैको साझा दायित्व भएको सशस्त्र प्रहरी बलको निष्कर्ष छ।

पछिल्ला दिनमा मधेस केन्द्रित आन्दोलन, प्रदर्शन र केही स्थानमा भएको झडपका कारण सुरक्षा अवस्था संवेदनशील बनेको बेला एपीएफको यो अपिल आएको हो। सुरक्षा निकायले कानुनी प्रक्रियालाई सम्मान गर्न, सामाजिक सञ्जालमा अपुष्ट सामग्री नफैलाउन र शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सबै नागरिकसँग पुनः आग्रह गरेको छ।FB_IMG_1785482316646