काठमाडौं ।पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ब्रोड पिकमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका नेपाली पर्वतारोहीहरूको खोजी तथा उद्धारका लागि नेपालले कूटनीतिक पहललाई तीव्र बनाएको छ।

शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै इस्लामावादस्थित नेपाली दूतावासले अल्पाइन क्लब अफ पाकिस्तान ९एसीपी० तथा अन्य सम्बन्धित सरकारी निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको हो। मन्त्रालयका अनुसार उद्धार कार्यलाई प्रभावकारी बनाउन दूतावासले घटनाको प्रत्येक विवरण नजिकबाट नियालिरहेको छ।

परराष्ट्रका अनुसार पाकिस्तानी निकायहरूले खोजी तथा उद्धार अभियान जारी रहेको जानकारी दिएका छन्। साथै उपलब्ध सबै स्रोतसाधन परिचालन गरी बेपत्ता पर्वतारोहीहरूलाई सुरक्षित रूपमा खोज्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

हिमपहिरो प्रभावित टोलीमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ को नेतृत्वमा पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ग्यालु शेर्पासहित ओमान, पाकिस्तान, चीन र अमेरिकाका आरोही सहभागी रहेको मन्त्रालयले जनाएको छ।

घटनापछि नेपाल सरकारले पाकिस्तानस्थित दूतावासमार्फत लगातार सूचना आदानप्रदान गरिरहेको छ भने प्रभावित परिवारलाई पनि घटनाको अवस्थाबारे जानकारी गराइँदै आएको बताइएको छ।