सिरहा । गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको गाउँमा शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङविरुद्ध चर्को नाराबाजी भएको छ। गृहमन्त्री गणेशको परिवारलाई भेट्न गाउँ आउने तयारी गरेको खबर सार्वजनिक भएपछि स्थानीय बनिनिया चोकमा भेला भएर विरोध प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड बोकेर ’गणेशलाई न्याय दे’, ’दोषीलाई कारबाही गर’, ’राज्यको दमन बन्द गर’ लगायतका नाराबाजी गरेका थिए। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

स्थानीयले “न्याय नपाउन्जेल गृहमन्त्रीलाई गाउँ प्रवेश गर्न दिँदैनौँ“ भन्दै चेतावनीसमेत दिएका छन्। उनीहरूको भनाइमा शोकाकुल परिवारलाई भेट्नुभन्दा पहिले सरकारले घटनाको सत्य सार्वजनिक गर्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ।

गणेशको मृत्यु भएपछि गाउँमा शोकसँगै आक्रोश बढ्दै गएको छ। स्थानीयले न्यायको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।