काठमाडौं । गोरखाको विकट गाउँ लाप्राकबाट एउटा किशोरले देखेको सपना विश्वका सर्वोच्च हिमालहरूसम्म पुग्यो। तर, जीवनभर अरूलाई शिखरसम्म सुरक्षित पु-याउने त्यही साहसी नेपाली अन्ततः आफ्नै प्रिय हिमालको काखमा सदाका लागि निदाए। नेपाली पर्वतारोहणका अनुभवी गाइड पुरबहादुर गुरुङ ‘युक्त’ अब इतिहास बनेका छन्।
पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोले युक्तको जीवनयात्रा रोकिदियो। शुक्रबार उनको शव भेटिएसँगै नेपाली पर्वतारोहण क्षेत्रले केवल एक आरोही होइन, अनुभव, साहस र समर्पणको एउटा विद्यालय नै गुमाएको महसुस गरेको छ।
१७ वर्षको उमेरदेखि हिमालसँग सम्बन्ध गाँसेका युक्तले २२ वर्षमै पहिलोपटक सगरमाथा चुमे। त्यसपछि उनको पाइला कहिल्यै रोकिएन। उनले १० पटक सगरमाथा आरोहण गर्दै शेर्पाबाहेक सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने नेपालीको कीर्तिमान बनाए। गुरुङ समुदायबाट केटु आरोहण गर्ने पहिलो व्यक्ति र सबैभन्दा धेरै पटक सगरमाथा चुम्ने आरोहीको पहिचान पनि उनले नै स्थापित गरे।
उनको परिचय केवल शिखर चढ्ने आरोहीको थिएन। विश्वका सयौँ विदेशी आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पु¥याउने भरपर्दा नेपाली गाइडका रूपमा उनी चिनिन्थे। विश्वप्रसिद्ध आरोही ८८निर्मल पुर्जा ‘निम्सदाइ’८८का सबैभन्दा विश्वासिला सहयात्रीमध्ये युक्त अग्रस्थानमा थिए।
२०८० सालमा केवल १२ दिनभित्र पाकिस्तानका चार आठहजारी हिमाल—ग्यासरब्रुम–२, ग्यासरब्रुम–१, ब्रोड पिक र केटु आरोहण गरेर उनले नेपाली पर्वतारोहणमा नयाँ इतिहास कोरे। जीवनकालमै उनले २८ पटक आठहजारी हिमालको सफल आरोहण गर्दै आफूलाई नेपालको उत्कृष्ट पर्वतारोहीमध्ये एकका रूपमा स्थापित गरे।
विडम्बना, जुन हिमाललाई उनले जीवन दिए, अन्तिम सास पनि त्यही हिमालले आफ्नै काखमा राख्यो। लाप्राकबाट उठेको एउटा साधारण युवक विश्वका शिखरसम्म पुगेको कथा अब नयाँ पुस्ताका लागि प्रेरणा बनेर बाँच्नेछ। युक्त गुरुङ अब शारीरिक रूपमा छैनन्, तर उनले चुमेका शिखर, बनाएका कीर्तिमान र नेपालको झण्डा फहराएका उचाइहरू सधैं नेपाली पर्वतारोहणको इतिहासमा अमिट भएर रहनेछन्।






































