काठमाडौं । सुनसरीसहित मधेसका केही जिल्लामा देखिएको तनाव र असहज परिस्थितिलाई लिएर प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलको मुख्य एजेन्डा सामाजिक सद्भाव कायम गर्ने, हिंसा फैलिन नदिने र प्रभावित क्षेत्रमा शान्ति पुनःस्थापना गर्ने उपाय रहेको जनाइएको छ।

छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउत लगायतका मधेस केन्द्रित नेताहरू सहभागी छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार पछिल्ला घटनाले मधेसमा बढेको संवेदनशीलतालाई ध्यानमा राख्दै राजनीतिक संवादमार्फत समाधान खोज्ने उद्देश्यले बैठक बोलाइएको हो। सरकार र मधेसवादी नेतृत्वबीचको यो संवादलाई तनाव व्यवस्थापन र सामाजिक सद्भाव कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।