काठमाडौं— नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता घोषणा हुने भएको छ ।  बुधबार (आज) दिउँसो ११ बजे दुई दलको एकीकरण हुने घोषणा गर्न लागिएको हो ।

पार्टी एकीकरण कार्यक्रम कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तह र संघ(संगठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी (नाजपा) बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत नै बन्नेछन् ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्नेछिन् । संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र श्रेष्ठ रहने सहमति भएको छ ।

जनमतसँग ६ जना र नाउपासँग ४ जना प्रतिनिधि सभा सदस्य छन् । एकतापछि यो दल  प्रतिनिधि सभाको सिटको आधारमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी बराबर हुनेछ ।