काठमाडौं, वैशाख १५ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले सबै राजसंस्था समर्थक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले पात्र होइन, एजेन्डा हेरेर अघि बढ्नुपर्ने बताएका छन्।


OM Sai Pathibhara Hospital

आइतबार काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजावादी विचारधारा बोकेका सबै शक्ति एक भएमा छिट्टै हिन्दू राष्ट्रसहितको प्रजातान्त्रिक राजसंस्था पुनःस्थापना सम्भव रहेको दाबी गरे।


“हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौं,” उनले भने, “केही हप्ता, केही महिनाभित्रै हिन्दू राष्ट्र र राजसंस्था पुन:स्थापना गर्न सकिन्छ। हामी एक ठाउँमा उभियौं भने गणतन्त्र पक्षधर नेताहरूले सोच्न बाध्य हुनेछन्।”


थापाले राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई आन्दोलनको नेतृत्व लिन आग्रह गरे।

उनले लिङदेनसँग अतीतमा केही राजनीतिक मतभेदहरू भए पनि अहिलेको परिस्थिति उनको सक्रिय सहभागिता र नेतृत्वको माग गरिरहेको बताए।


“म सार्वजनिक रूपमा भन्न चाहन्छु, राजेन्द्र लिङदेन मेरो प्रिय भाइ हुनुहुन्छ। अहिलेको घडीले उहाँको नेतृत्व आवश्यक ठानेको छ,” थापाको भनाइ थियो।


थापाले अहिलेको परिस्थिति राजसंस्था पुनःस्थापनाका लागि अत्यन्त अनुकूल रहेको उल्लेख गरे। यस्तो अवसरमा एक ठाउँमा उभिन नसके इतिहासले सराप्ने चेतावनी पनि दिए।


उनले राजनीतिक जीवनको अन्तिम चरणमा रहेका नवराज सुवेदी कुनै स्वार्थ नराखी अभियान संयोजनमा जुटेको भन्दै सबै पक्षलाई आवश्यक व्यवस्थापनसहित एक ठाउँमा उभिन आग्रह गरे।


“केही समयका लागि भए पनि एक ढिक्का भएर अगाडि बढौं,” थापाले भने, “यो विशिष्ट घडीमा हामी सबैले जिम्मेवारीपूर्वक एकता देखाउनुपर्छ।”