काठमाडौं — शिक्षक महासंघको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेपछि संसदमा एकपछि अर्को रूपमा सरकारविरुद्ध चर्को आलोचना भएको छ ।  प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहित विभिन्न दलका सांसदहरूले आन्दोलनमा गरिएको दमनप्रति आपत्ति जनाउँदै सरकारलाई शिक्षकमाथि गरिएको ‘बहुमतको अत्याचार’ तत्काल रोक्न माग गरेका छन्। 


OM Sai Pathibhara Hospital

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयको सदुपयोग गर्दै विपक्षी सांसदहरूले शिक्षकका जायज मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराए। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारमाथि शान्तिपूर्ण आन्दोलनमा दमन गरेको गम्भीर आरोप लगाए।

"शिक्षकमाथि लाठीचार्ज, पानीको फोहोरा प्रयोग गरेर घाइते बनाउने काम सरकारले गर्‍यो। यस्तो दमन हामी भत्र्सना गर्छौं," शर्माले संसदमा आक्रोश पोखे।


शर्माले सरकारले विगतमा शिक्षकसँग भएका सहमतिहरू कार्यान्वयन नगरेर धोका दिएको भन्दै, अब ढिलाइ नगरी मागहरू पूरा गर्नुपर्ने बताए।


पूर्व शिक्षामन्त्री तथा रास्वपाकी सांसद सुमना श्रेष्ठले शिक्षकमाथि दमन गरेर सरकारले बहुमतको दम्भ देखाएको आरोप लगाइन्। "शिक्षकमाथि दमन गरेर सरकारले अधिनायकवाद लाद्न खोजेको छ," उनले भनिन्। श्रेष्ठले शिक्षकहरूलाई पनि राजनीति गर्न नहुने उल्लेख गर्दै भनिन्, "शिक्षकले नेताको दास बन्नु हुँदैन, दलको सदस्यता त्यागेर तटस्थ रहनुपर्छ।"


राप्रपाकी रोशन कार्कीले आइतवार काठमाडौंमा भएको घटनाको विरोध गर्दै शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई आग्रह गरिन्। उता, नेकपा एमालेका सूर्य थापाले शिक्षकहरूलाई संयमित आन्दोलन गर्न आग्रह गर्दै, सहमति कार्यान्वयन नगर्ने सरकारी प्रवृत्तिकै कारण आजको समस्या आएको दाबी  गरेकी हुन्।