काठमाडौं — नेकपा (एमाले) नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि तीव्र आलोचना गर्दै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तुष्ट छन् भने संस्थागत निर्णयमार्फत बाहिरिन सुझाव दिएका छन्।


OM Sai Pathibhara Hospital

एक अन्तर्वार्तामा बोल्दै पोखरेलले गगन र विश्वप्रकाश सत्तारुढ दलको नेता भएर पनि प्रतिपक्षजस्तो व्यवहार गरिरहेको टिप्पणी गरे। "यदि सरकारले राम्रो गरिरहेको छैन भन्ने लाग्छ भने, पार्टीबाट निर्णय गरेर फिर्ता भए हुन्थ्यो नि," उनले भने, "सरकार मन नपरेको हो भने शेरबहादुर देउवालाई सम्झाएर बाहिर निस्कनुस्, आलोचना गरेर सरकार भत्काउने प्रयास गर्नु उपयुक्त होइन।"


नेता पोखरेलको भनाइ अनुसार, कांग्रेस नेताहरू सरकारमा बसेर नै प्रतिपक्षको भूमिका खेलिरहेका छन्, जुन गैरजिम्मेवार व्यवहार हो। उनले कांग्रेस नेतृत्वलाई स्पष्ट सन्देश दिँदै भने, "हामीले त समातेर सरकार जोगाइरहनुपर्छ भनेका छैनौं, मन नपरेको हो भने बिदा लिए हुन्छ।"


हालै गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति कडा असन्तोष प्रकट गरेका थिए। गगन थापाले त प्रधानमन्त्रीको बेडरुमसम्म दलालहरूको पहुँच रहेको दाबीसमेत गरेका थिए, जसले राजनीतिक हलचल झनै तातेको छ।