काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा उनले राजीनामा बुझाएको रास्वपा सभापति लामिछाने निकट स्रोतले जानकारी दिएको छ । “उहाँले सभापतिलाई नै राजीनामा दिनुभएको हो,” रास्वपाका एक नेताले भने, “पहिले नै राजीनामा दिने तयारीमा हुनुहुन्थ्यो तर रवि दाइ हिरासतमा रहेकाले नदिएको भनेर उहाँले हामीसँगको कुराकानीमा भन्नुभएको छ ।”

तर श्रेष्ठले आफूले केन्द्रीय समितिको बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामाका सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेकी छैनन् । रास्वपाले केन्द्रीय समिति बैठक विहीबार (आज)का लागि बोलाएको छ । लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । स्रोतले दिएको जानकारीअनुसार एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा उनको रहेको छ ।

OM Sai Pathibhara Hospital

 “पुस्तान्तरणका लागि गर्नुपर्ने कुरा के हो भन्ने कुनै पनि पार्टीमा देखिएन,” श्रेष्ठ निकट स्रोतले भन्यो, “पदमा जहिले पनि टाँसिएर बस्नुको औचित्य छैन । बोली र व्यवहारमा एकरुपता ल्याउनैपर्छ भनेर उहाँले राजीनामा दिनुभएको हो ।” आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको स्रोत बताउँछ ।