काठमाडौं— राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेताहरूलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित प्रतिबद्धतासभामा बोल्दै गुरुङले वैशाख २१ गतेसम्म तीनकुने घटनामा पक्राउ परेकालाई रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् ।

सामूहिक गिरफ्तारीको अगुवाइ आफूले गर्ने उनले बताए । उनले अब आफूहरूको आन्दोलन भ्रद्र अवज्ञा प्रकारको हुने उल्लेख गर्दै उनले अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको बताए ।
गुरुङले राजावादीको आन्दोलन कमजोर भएको हल्ला फैलाइएको भन्दै अहिले आफूहरू योजनामा व्यस्त रहेको उल्लेख गरे । उनले वैशाख २१ देखि एक्सनमा जाने जिकिर गरे ।
त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुनेको सभालाई राज्यले हिंसात्मक बनाएको आरोप लगाए । राजावादीलाई कमजोर र बदनाम गराउन राज्यले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप थुपार्ने काम गरेको उनको आरोप छ ।
उनले संघीयता, धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधनको प्रयास भएको भन्दै त्यसो गरिए देशमा आगो बल्ने चेतावनी दिए ।