काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्दैछ।

उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने  राप्रपाले दाबी गरेको छ । राप्रपाको मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।

OM Sai Pathibhara Hospital

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।

जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले २ हजार प्रहरी परिचालन हुने दाबी गरे ।

त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले भने आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने बताएका छन् । यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्‍खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।

राजावादीको तर्फबाट १५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजगको मृत्यु भएको थियो । यता प्रहरीले अनाश्यक दमन गरेको भन्दै त्यसको आलोचना भइरहेको छ ।

तीनकुने घटनाबाट झस्केको प्रहरीले अहिले भने सुरक्षा रणनीतिबारे केही बताउन चाहेको छैन । तीनकुनेजस्तो बल्खु क्षेत्र संवेदनशील नभएको र तीनकुनेको जस्तो उच्छृङ्‍खल गतिविधि समेत नहुने सुरक्षा विश्लेषण गरिएको छ ।

यता राप्रपाले ठूलो संख्यामा जुलुस आएर बल्खुमा सभा हुने र त्यसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताइएको छ । मंगलबार साढे ११ बजेबाट उपत्यकाका विभिन्न ठाउँहरुबाट जुलुस निस्कने छन्  ।

मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने त्यसका लागि राप्रपाले समेत ठूलो संख्यामा स्वयंसेवक परिचालन गर्ने छ । उनका अनुसार कमल थापा नेतृत्वको राप्रपा नेपालले समेत प्रदर्शनलाई समर्थन गरेको छ । जगमान गुरुङ नेतृत्वको राजतन्त्र पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, शिव सेना नेपाललगायतले समेत मंगलबारको प्रदर्शनलाई समर्थन गरेको श्रेष्ठको भनाइ छ ।

बागमती प्रदेशस्तरीय सभा भएकाले बागमती प्रदेशका जिल्लाहरुबाट समेत सभामा सहभागी हुन ठूलो संख्यामा मान्छे काठमाडौं आउने दाबी राप्रपाको छ।

यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीको आह्वानमा शान्तिपूर्ण प्रदर्शन हुने बताएका छन् । राप्रपाले हिंसा र अराजकतामा आफ्नो भविष्य नदेखेको उनको भनाइ छ । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङदेनले भद्र अवज्ञा र सत्याग्रहका रुपमा आन्दोलन अघि बढाउने बताए । कांग्रेस, एमाले र माओवादीका समर्थकहरुलाई समेत आन्दोलनमा आउन उनले अपिल गरे ।

आफ्नो जीवनकालमै देशमा परिवर्तन देख्न चाहने सबैलाई आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछु । आफ्नो पार्टीको झण्डा लिएर आउन मन लागे ल्याउन सक्नुहुन्छ, नत्र राष्ट्रिय झण्डा बोकेर आउनुस । कांग्रेस, एमाले, माओवादीमा पनि देशलाई माया गर्नेहरु हुनुहुन्छ । तपाईंहरु आफ्नो पार्टीको झण्डा लिएर आउनुस्’, लिङदेनले भने ।

राज्य पक्षले हिंसा भड्काउन सक्नेमा आफूहरु सचेत रहेको भन्दै उनले जनप्रदर्शनमा हजारौं भोलिन्टियर्सलाई खटाइसकेको जानकारी दिए । कार्यक्रमस्थल ९ बजेबाटै स्वयम्सेवकको नियन्त्रणमा रहने र घुसपैठीहरुलाई ठाउँको ठाउँ आयोजकको तर्फबाट कारवाही गरिने उनले चेतावनी दिए ।