अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन् ।
गत आर्थिक वर्षमा १०० बढी कर्मशील महिला उद्यमी तयार गरि मकैको पोस्कर र थाकलबाट टोपी र झोला निर्माण गरेको पालिकाले यस वर्ष ५०० बढीलाई रोजगारी दिने लक्ष्य राखेको नगरप्रमुख झविलाल थापाले बताए ।

स्वरोजगार सिर्जना गर्ने, बसाइँसराइ नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरि भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशिल कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख थापाको भनाइ छ ।
नगरपालिकाले प्राकृतिक रेशाजन्य वनस्पति थाकलको पात र मकैको पोस्करबाट निर्माण हुने हस्तकला सामग्रीलाई व्यावसायिक रुपमै अगाडि बढाएको छ । उन्नत जातको मकैको पोस्करबाट टोपी र झोला निर्माण हुने भएकाले नगरपालिकाले बाँझो जग्गामा कर्मशिल रोजगार कार्यक्रममार्फत मकैको बीउ उत्पादन गरेर नगरपालिका मकैको बीउमा आत्मनिर्भर बनेको नगरपालिकाका योेजना अधिकृत हरिश्चन्द्र भुसाललले जानकारी दिए ।
मकैको पोस्कर र थाकलबाट निर्माण गरिएका टोपी तथा झोलामा बजारीकरणको कुनै समस्या नरहेको नगर उपप्रमुख बालाकृष्ण बञ्जाडेले जानकारी दिए । ओम राजश्री मल्टि एग्रो प्रालि काठमाडौँले गत आर्थिक वर्षमा तालिम लिएकामध्ये निरन्तर सामान निर्माण गर्ने भूमिकास्थान–३ की लीला विकलाई रु ३० हजारसहित प्रमाणपत्रले सम्मान गरेको छ ।
बाँझो जग्गा खनेर गहत, प्याज र विभिन्न तरकारीखेतीबाट मनग्य आम्दानी गरेका कर्मशील महिला उद्यमीले अहिले आफै तयार पारेका मकैको पोस्कर थाकेको पातबाट बनेका हस्तकलाका सामग्री गाउँमा उत्पादन गरेर विदेशमा निर्यात गर्न थालेपछि सो आयआर्जनमा महिला उत्साहित भएर लागेका छन् ।
नगरपालिकाले बेरोजगारी समस्या अन्त्य गर्ने स्वरोजगार सिर्जना गर्ने, बसाइँसराइ नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरी भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशील कार्यक्रम सुरु गरेको जनाएको छ ।
भूमिकास्थानले मकैको पोस्कर र थाकलको पातबाट निर्माण हुने हस्तकला सामग्रीलाई व्यावसायिक रूपमै अगाडि बढाएपछि महिला उत्साहित छन् । भूमिकास्थानकका १० वटै वडामा १०÷१० जनाको टोली बनाएर तालिम दिएर रोजगारी सिर्जना गरेको नगरपालिकाले अहिले महिलालाई व्यावसायिकतामा जोडेको प्रमुख प्रशासकीय अधिकृत नेपालीले जानकारी दिए ।
नेपालीले भने, ‘मकैको पोस्कर र थाकल (वनस्पती)बाट झोला र टोपी बनाउन सिकाउने तालिम दिएका थियौँ, अहिले यो प्रभावकारी बनेको छ ।’ यसलाई ‘कर्मशील जनशक्ति रोजगार कार्यक्रम–२०८१’ नाम दिइएर कानुन निर्माण गरिएको कम्प्युटर अधिकृत शेषकान्त घिमिरेले बताए । यस प्रयासलाई ओमश्री मल्टिएग्रो प्रालिले सघाइरहेको छ ।
पहिला तालिम दिएपछि कम्पनीले प्रति क्वीन्टल १५ हजारको दरले पोस्कर खरिद गरेको छ । यसरी तयार भएको झोला र टोपीको बजारीकरण पालिकाले गरेपछि महिलाहरू लाखौंँ कमाउने भएका छन् । नगरपालिकाले काम सिकाएका महिला अहिले बिहान १० देखि साँझ ५ बजेसम्म रोजगार दिने र त्यसबापत् प्रत्येकलाई रु ६६८ दैनिक ज्याला पालिकाले दिने गरेको छ । पालिकाबाट बेरोजगारी समस्या अन्त्य गर्ने योजनाअन्तर्गत बाँझो खेत जोत्ने अभियान पनि सँगसँगै नगरपालिकाले सुरु गरेको छ ।