काठमाडौं— क्याथोलिक ईसाई धर्मगुरु पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । भ्याटिकन सिटीका अनुसार पोपले स्थानीय समयअनुसार बिहान साढे सात बजे अन्तिम सास फेरे । उनी इतिहासकै पहिलो ल्याटिन अमेरिकी पोप बनेका थिए ।
उनी विगत केही महिनादेखि स्वास्थ्य समस्याबाट पीडित थिए । उनलाई १४ फेब्रुअरीमा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो । उनी निमोनिया र रक्तअल्पताबाट पीडित थिए । उनलाई फोक्सोको संक्रमण पनि देखिएको थियो । जसका कारण पाँच हप्तासम्म उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा क्याथोलिक चर्चको मुख्यालय भ्याटिकनले पोपको रगत परीक्षण रिपोर्टमा मिर्गौला फेल हुने लक्षण देखिएको बताएको थियो । प्लेटलेट्सको कमी पनि उनमा देखिएको थियो । यद्यपि उनलाई मार्च १४ मा डिस्चार्ज गरिएको थियो ।
पोप फ्रान्सिस अर्जेन्टिनाका एक जेसुइट पादरी थिए, जो २०१३ मा रोमन क्याथोलिक चर्चका २६६ औं पोप बनेका थिए । उनी पोप बेनेडिक्ट सोह्रौंको उत्तराधिकारी निर्वाचित भएका थिए । पोप फ्रान्सिस पछिल्लो १ हजार वर्षमा क्याथोलिक धर्मको सर्वोच्च पदमा पुग्ने पहिलो गैरयुरोपेली थिए ।
उनको जन्म १७ डिसेम्बर १९३६ मा अर्जेन्टिनाको फ्लोरेन्समा भएको थियो । पोप बन्नुअघि उनी जर्ज मारियो बर्गोग्लियोको नामले चिनिन्थे । तानाशाह बेनिटो मुसोलिनीबाट बच्न उनका हजुरबा र हजुरआमा इटाली छोडेर अर्जेन्टिना गएका थिए ।
पोपले आफ्नो जीवनको अधिकांश समय अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा बिताएका थिए ।
उनी सोसाइटी अफ जीसस ९जेसुइट्स० को सदस्य हुने पहिलो पोप थिए भने अमेरिकाबाट आउने पहिलो पोप पनि । उनले ब्यूनस आयर्स विश्वविद्यालयबाट दर्शनशास्त्र र धर्मशास्त्रमा स्नातकोत्तर हासिल गरेका थिए ।
सन् १९९८ मा उनी ब्यूनस आयर्सको आर्कबिशप बने भने २००१ मा पोप जोन पल द्वितीयले उनलाई कार्डिनल बनाएका थिए ।
पदभार ग्रहण गरेको चार महिनापछि नै पोपलाई समलैंगिकताको मुद्दामा प्रश्न गरिएको थियो । जहाँ उनले भनेका थिए– यदि समलिङ्गी व्यक्तिले भगवान् खोजिरहेको छ भने म उसलाई न्याय गर्ने को हुँ ? ’
पोपले सम्बन्ध विच्छेद भएका क्याथोलिकहरूलाई पुनर्विवाह गर्ने कानुन प्रदान गरेका थिए । उनले त्यस्ता मानिसहरूलाई सामूहिकता प्राप्त गर्ने अधिकार दिए । जसले गर्दा सामाजिक बहिष्कारको अन्त्य भएको थियो ।
अप्रिल २०१४ मा पोप फ्रान्सिसले पहिलो पटक चर्चमा बालबालिकामाथि हुने यौन दुर्व्यवहार स्वीकार गरेका थिए भने सार्वजनिक रूपमा माफीसमेत मागेका थिए । उनले चर्चका पादरीहरूले गरेको यो अपराधलाई नैतिक मूल्यमान्यताको पतन भनेका थिए । त्यसवेला कुनै पनि पोपबाट यस विषयमा कुनै प्रतिक्रिया नआएकाले भ्याटिकनको आलोचनासमेत भएको थियो ।
गत वर्ष सेप्टेम्बर २७ मा बेल्जियम भ्रमणका क्रममा उनले क्याथोलिक चर्चहरूमा बाल यौन दुर्व्यवहार भएको भन्दै माफी माग्न आग्रह गरेका थिए । उनले ब्रसेल्समा पादरीहरूद्वारा यौन दुर्व्यवहारका पीडित १५ जनालाई पनि भेटेका थिए ।